images
images

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न

काठमाडौँ। उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर चारदिने छठ पर्वलाई समापन गरिएको छ।

आज सोमबार बिहान ब्रतालुहरूले पानीमा उभेर उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् । शुक्रबारदेखि विधिवत रूपमा सुरु भएको छठको पहिलो दिन शुक्रबार ‘नहाय-खाए’ गरिएको थियो ।

अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।

धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ ।

आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो, जो आडम्बरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।

छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ ।

त्यस्तै, छठको मूल दिन आइतबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको थियो भने आज उदाउँदै गरेको सूर्यलाई अर्घ दिइ छठ पर्वको विधिवत् रूपमा समापन गरिएको छ ।