images
images

चितवनमा दुई गैँडा मारिएको घटनामा अनुसन्धान समितिले थाल्यो काम

चितवन : चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुई गैँडा मारेको घटना छानबिन गर्न वन तथा वातावरण मन्त्रालयले बनाएको समितिले काम थालेको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा गठित पाँच सदस्य सम्मिलित टोलीले स्थलगत रूपमा काम थालेको हो।

उपमहानिर्देशक ढकालका अनुसार शनिबार नै घटनास्थलमा पुगेर सूक्ष्मरूपमा अध्ययन गरिएको छ। सोमबार  मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलगायत सरोकारवालासँग छलफल गर्ने उनले बताए। ‘हामी सूक्ष्मरूपमा अध्ययन र छलफल गरेर प्रतिवेदन तयार गर्छौँ’, उनले भने।

मन्त्रालयले सचिवस्तरीय निर्णय गरी १० दिनभित्र प्रतिवेदन बुझाउने गरी गएको शुक्रबार समिति बनाएको थियो। समितिमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख सेनानी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक, राष्ट्रिय निकुञ्ज विभागका कानुन अधिकृत र अनुसन्धान अधिकृत छन्।

प्रमाण संकलन गरी भएका कमीकमजोरी र सुधार गर्नुपर्ने विषयसमेत समावेश गरी प्रतिवेदन तयार गर्ने उपमहानिर्देशक ढकालले जानकारी दिए। राष्ट्रिय निकुञ्जमा दुई दुर्लभ एक सिङ्गे गैँडा तस्करले धरापमा पारेर मारेपछि छानबिन गर्न समिति बनाइएको हो।

निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रको बडेला खोला नजिकै बिहीबार दुई गैँडा मृत अवस्थामा भेटिएका थिए। ती दुई गैँडा केही दिनको अन्तरमा मारिएको बताइएको थियो।