संसदको आगामी अधिवेशनमा सडक आश्रित मानवहरुको व्यवस्थापन हुने गरी विधेयक पेस हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहयोगापेक्षी सडकआश्रित मानवहरूको समुचित व्यवस्थापन हुने गरी आगामी संसद् अधिवेशनमा विधेयक पेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मानवसेवा आश्रमले सोमवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन्। ​

मानवसेवा आश्रमलाई सहयोगापेक्षी सडकमानव उद्धारका लागि आतिआवश्यक पर्ने भवन, जग्गा, बाहनलगायतका सेवा उपलब्ध गराउन पनि सरकार प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री दाहालले बताए।

उनले त्यस अवसरमा सबै प्रदेशमा एक/एक वटा सडक आश्रितमानव उद्धारका लागि आजैबाट सञ्चालनमा आउने गरी सवारीसाधन उपलब्ध गराउने घोषणासमेत गरे।

प्रधानमन्त्री दाहालले देशलाई सडकआश्रित मानव मुक्त बनाउने नेपाल सरकारको घोषणा पूरा गर्न एक महिना भित्र मन्त्रिपरिषद्‍बाट ठोस योजना बनाई अघि बढ्ने संकल्प रहेको बताए।

प्रधानमन्त्री दाहालले प्रदेश र स्थानीय तहका सरकारलाई पनि सडक सहयोगोपेक्षी मानवको उचित व्यवस्थापनका लागि आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्न पनि आफूले समन्वय गर्ने बताए।