images
images

प्रतिगामीहरू अन्तिम छटपटीमा छन्, उनीहरूको सपना कहिल्यै पूरा हुँदैन : प्रधानमन्त्री

मंसिर ६, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा हुँदैन।
नेपाल सरकारको मन्त्रिपरिषदले सरकारी लिखतहरूमा नेपाल संव्त समेत उल्लेख गर्ने निर्णयको स्वागतमा प्रधानमन्त्रीलाई सम्मान गर्ने कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो।
प्रधानमन्त्रीले भन्नुभयो, ‘‘आजको परिवर्तन साना दुखले आएको होइन। यो व्यवस्थाका निम्ति हजारौंले रगत बगाएका छन्, हजारौंले जेलनेल भोगेका छन्। लाखौं जनताले संघर्ष गरेका छन्। यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन।’’
‘‘संसारकै नियम हो– पराजित भइसकेका सामन्ती तत्वहरूले अन्तिमपटक टाउको उठाउन खोज्छन्। अहिले पनि त्यही कोसिस हुँदैछ’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने सपना कसैले नदेख्दा हुन्छ। यस्तो दुस्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्नेछ।’’
प्रधानमन्त्रीले नेपाल संवत् नेपालको मौलिक संवत् भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘हामीले विक्रम संवत् प्रयोग गरिरहेका छौं। कतिपय सन्दर्भमा अंग्रेजी संवत् पनि लेखिन्छ। तर, नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् हो। यसलाई राष्ट्रिय संवत्को रूपमा विकसित तुल्याउनुपर्दछ।’’
‘‘एकथरि मान्छेहरू लोकतन्त्र र संस्कारको कुरा गर्दैछन्। उनीहरूको संस्कार के हो, लोकतन्त्र कस्तो थियो भन्ने कुरा हामीले राम्रोसँग देखिसकेका छौं। लुटको स्वर्ग गुमेको छटपटी उनीहरूको होला। तर, व्यवस्थाका विरूद्ध षड्यन्त्र गरिरहे हामी थप कठोर हुन बाध्य हुनेछौं’’ प्रधानमन्त्रीले कार्यक्रममा भन्नुभयो।

नागरिक अगुवाहरूको उद्घोष : गणतन्त्रको रक्षार्थ जस्तोसुकै मूल्य चुकाउन तयार छौँ
कार्यक्रममा राजनीतिक दल र नागरिक समाजका अगुवाहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताउनुभयो।
सभामा नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले भन्नुभयो, ‘‘नेपालले उत्कृष्ट संविधान पाएको छ। तपाईहरू सबैलाई थाहा छ– नेपाली जनताका छोराछोरी राष्ट्रपति हुने व्यवस्था हामीले नै ल्याएको छ। यही व्यवस्थाले विद्यादेवी भण्डारी, डा. रामवरण यादवहरूलाई राष्ट्रपति बनायो। राज्यका हरेक क्षेत्रमा महिलाहरूको राम्रो नेतृत्व छ। सामाजिक न्यायको अभ्यास भएको छ। यस्तो व्यवस्था संसारका कुन मुलुकमा छ ? हाम्रो संविधान संसारकै प्रगतिशीलमध्ये एक छ। त्यसैले यसको रक्षाका निम्ति हामीले जस्तासुकै मूल्य चुकाउन तयार छौं।’’
कार्यक्रममा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा राम्रो व्यवस्था अरू हुन नसक्नेमा जोड दिँदै त्यसको रक्षार्थ दृढतापूर्वक अगाडि बढ्ने बताउनुभयो।
अर्का वक्ता जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बहुदलीय लोकतान्त्रिक व्यवस्थाले मात्रै सबै भाषा, जाति, संस्कृतिको रक्षा गर्नसक्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘बहुदलीय लोकतान्त्रिक गणतन्त्रले नै सबैको विचार र भावनाको प्रतिनिधित्व गर्न सक्छ। हाम्रो प्रधानमन्त्रीले सबै दल र भावनाको नेतृत्व गरिरहनुभएको छ। यस्तो प्रतिकूल समयमा पनि नेपाल संवत्लाई सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय लिनु सामान्य कुरा होइन।’’
नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान श्रेष्ठले गणतन्त्रको विरोध गर्नेहरूलाई हिजोका दिन सम्झिन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘‘गणतन्त्रको विरोध गर्नेहरूलाई म प्रश्न गर्न चाहन्छु– के हिजोको राजतन्त्र ठीक थियो त ? हिजोको राजतन्त्रले गरेको निर्मम दमन र अत्याचार भुल्न सकिँदैन। यो व्यवस्थाको विरोध गर्नेहरूका विरूद्ध दृढतापूर्वक उभिन्छौं।’’
नागरिक अगुवा मल्ल के. सुन्दरले राजाको शासनकालमा नेपाल संवत् मनाउँदासमेत नेवार समुदायमाथि निर्मम दमन गरिएको स्मरण गर्नुभयो। उहाँले भन्नुभयो, ‘‘विविधतायुक्त नेपालमा एकदलीय, एक वंशको शासन कसरी सही हुन सक्छ, यसलाई मान्न सकिँदैन। राजतन्त्र र पञ्चायतले कहिल्यै पनि जनताको पक्षमा काम गरेन। फेरि त्यही व्यवस्थाको वकालत गर्नेहरूलाई हामीले फेरि जवाफ दिनुपर्छ र दिन्छौं।’’