प्रसाईं समर्थकको प्रदर्शनमा प्रहरीको कडा निगरानी

काठमाडौं- प्रहरीले नेकपा एमाले निकट युवा संघकाे प्रदर्शनमा भन्दा मेडिकल व्यवसायी दुर्गा प्रसाईंकाे प्रदर्शनमा कडा निगरानी राखेकाे छ।

प्रसाईंकाे प्रदर्शनस्थल बल्खुमा सिसिटिभी राखिएकाे छ। अप्रिय घटना हुन नदिन र भइ हालेमा सहभागीको पहिचान गर्न बल्खु क्षेत्रमा प्रहरीले राति थप क्यामरा जडान गरेको हो।

बिहीबार बिहानमात्र उपत्यकामा ३५ गाडी मान्छे भित्रिएका छन्। प्रहरीले बाहिरबाट मान्छे ल्याउन नाकामा पनि कडाइ गरेको छ।

सुरक्षा निकायले प्रसाईंले लाखौं मानिस भित्र्याउने भनेपछि केही हजारमात्र हुने मूल्यांकन गरेकाे छ।

युवा संघको प्रदर्शनमा सहभागी हुन एमालेले तीनै जिल्लाका कार्यकर्तालाई उर्दी जारी गरेको छ। युवा संघको नेतृत्वमा तीनकुनेमा प्रदर्शन हुने बताइएकाे छ।

दुई पक्षको प्रदर्शनका कारण उपत्यकाका सबैजसो स्कुल बन्द गरिएका छन्। केही स्कुलले अनलाइनमार्फत पढाइलाई निरन्तरता दिएका छन्।

दुवै समूहबीच झडप हुनसक्ने आकलन गर्दै काठमाडौं उपत्यकाकाे सुरक्षा व्यवस्था कडा पारिएकाे हाे।

सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डिआइजी लालमणि आचार्यको नेतृत्वमा एकीकृत कमान्ड सेन्टर स्थापना गरिएको छ। जसमा सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू रहेका छन्।

आजकाे सुरक्षाका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिने छ। आवश्यक परे थप जनशक्ति तयारी अवस्थामा रहने छन्।

काठमाडौंमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने बताइएकाे छ। चोक-चोकमा हतियारसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।

बल्खु र तीनकुने क्षेत्र वरपर ड्रोनबाट पनि निगरानी गर्ने तयारी गरिएकाे छ। ट्राफिक व्यवस्थापनका लागि पनि ९७८ जना ट्राफिक प्रहरी परिचालन गरिने बताइएकाे छ।

यसैगरी, सादा पोसाकमा ५०० प्रहरी खटाइने जनाइएकाे छ।