images
images

भारतमा संगठन राम्रो नभएको भए नेपालमा गणतन्त्र ल्याउन मुस्किल हुने थियोः प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतमा राम्रो संगठन बनाउन नसकेको भए नेपालमा गणतन्त्र ल्याउन मुस्किल हुने बताएका छन्।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुशीराम पाख्रिनको छैटौं स्मृति दिवस तथा खुशीराम पाख्रिन स्मृतिग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भारतमा संगठन हुनुको कारणले नै आफूहरुले भूमिगत रुपबाट धेरै सहयोग प्राप्त गरेको उल्लेख गरे।

उनले कार्यकर्तादेखि लड्ने योद्धाहरुसमेत भारतबाट पाएको बताए। उनले भारतमा भएका लाखौँ नेपालीहरुलाई संगठित र आन्दोलित गर्ने कुराको भूमिका स्व.पाख्रिनले गरेको बताए।

भारतमा संगठन विस्तार गर्न राजनीतिक नेताहरुको भन्दा पाख्रिनजस्ता साँस्कृतिककर्मीहरुको भूमिका बढी महत्वपूर्ण रहेको उल्लेख गरे।

उनले भने, ‘भारतमा हामीले राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्ने र त्यसले गणतन्त्रसम्म नेपालमा ल्याउने कुरा सायद मुस्किल हुन पनि सक्थ्यो। भारतमा संगठन हुनुको कारणले नै हामीले थुप्रै चिजहरु भूमिगत रुपबाट त्यहाँबाट सहयोग प्राप्त गर्‍यौँ। कार्यकर्ता प्राप्त गर्‍यौँ, लड्ने योद्धाहरु सिधै आएर फौजी मोर्चामा जाने र आउनेहरु पनि भयो।’

उनले थपे,’धेरै किसिमका प्राविधिकदेखि सेक्युरिटीसम्म सबै विषयमा इण्डियामा भएका लाखौँ नेपालीहरुलाई संगठित र आन्दोलित गर्नेकुराको भूमिका रह्यो। त्यसो गर्नेमा राजनीतिक नेताहरुको भन्दा कमरेड खुशीराम पाख्रिनजस्ता सांस्कृतिक कर्मीहरुको भूमिका बढी महत्वपूर्ण भयो। यसले निकै छिटो गतिमा नेपालीहरुलाई संगठित गर्न र आन्दोलित हुन उत्प्रेरित गर्‍यो।’