images
images

सातै प्रदेशका सभामुख र उपसभामुख अस्ट्रेलिया जाँदै

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात प्रदेशका सभामुख र उपसभामुख आइतबार राति अष्टेलिया जाने भएका छन् ।  वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरूको अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत अध्यक्ष तिमिल्सिना नेतृत्वको १२  सदस्यीय प्रतिनिधिमण्डल अस्ट्रेलिया जान लागेको हो ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संसद् सहयोग परियोजना अन्तर्गत अध्ययन भ्रमण हुन लागेको सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए ।  युएनडिपी नेपाल र सङ्घीय संसद् सचिवालयबिच समझदारी भई सङ्घीय संसद् र प्रदेशसभाहरूमा संसद् सहयोग परियोजना सञ्चालित छ ।

परियोजनाको  सन् २०२३ का लागि स्वीकृत कार्यक्रम अन्तर्गत सङ्घीय संसद्का लागि छुट्याइएको कार्यक्रममध्ये ‘सपोर्ट फेडेरल पार्लियामेन्ट टु शेयर नलेज एण्ड वेष्ट प्राक्टिस फर पार्लियामेन्ट्री फाइनान्सियल एण्ड एडमिनिस्ट्रिटिभ रिर्सोसेस एलोकेसन’ मा भ्रमण हुन लागेको हो । प्रतिनिधिमण्डलले अस्ट्रेलियाको संसद् र न्यु साउथ वेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसदहरूमा विभिन्न भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम रहेको छ ।

प्रतिनिधिमण्डलमा अध्यक्ष तिमिल्सिना, सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारी, कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङ, गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताल, कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार, मधेस प्रदेशसभाका  उपसभामुख बबिताकुमारी राउत ईशर, बागमती प्रदेश सभाका  उपसभामुख अपसरा चापागाईँ खत्री र  लुम्बिनी प्रदेशसभाका उपसभामुख मेनुका खाँड केसी छन् ।

यस्तै  मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, सङ्घीय संसद् सचिवालयका प्रमुख पुस्तकालय अधिकृत कमलादेवी शर्मा र सम्माननीय अध्यक्षज्यूको स्वकीय सचिव ऋचा पोखरेल पनि प्रतिनिधिमण्डलमा समावेश छन् । भ्रमण सम्पन्न गरी अध्यक्ष मङ्सिर १८ गते र प्रतिनिधिमण्डलका अन्य सदस्य २ डिसेम्बर, मङ्सिर १६ मा नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।