images
images

सामाजिक सुरक्षा कोषमा संकलन भएको रकम ब्याज खानका लागि होइनः मन्त्री भण्डारी

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा कोष श्रमिक र रोजगारदाता संकलन भएको रकम बैंकमा राखेर ब्याज खान स्थापना नभएको बताएका छन्।

सोमबार छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै श्रम मन्त्री भण्डारीले यस्तो बताएका हुन्।  उनले सामाजिक सुरक्षाको अवधारणका धेरै मुलुकहरुमा आर्थिक संकट परेको बेलामा सामाजिक सुरक्षा कोषले मुलुक बचाएको इतिहास रहेको बताए।

उनले कोषमा जम्मा भएको रकम परिचालन विविधीकरण गरेर राष्ट्रिय पुँजीको रुपमा निर्माण गरी राष्ट्र निर्माणको लागि रोजगारी सिर्जना गर्न आवश्यक रहेको उल्लेख गरे। उनले सुरक्षा कोषले लगानीलाई उपयुक्त रुपमा परिचालन गर्ने बताए।

उनले प्रधानमन्त्रीले अस्थायी र करारका कर्मचारीहरुलाई पनि सामाजिक सुरक्षामा आबद्ध गराउने प्रतिबद्धताअनुसार काम अन्तिम चरणमा पुगेको बताए। उनले स्वीकृतिको लागि अर्थतन्त्र मन्त्रालयमा फाइल पठाएको त्यसलाई सरकारले अगाडि बढाएर निश्चित बाटोमा अगाडि बढाउने दाबी गरे।

उनले भने,’सामाजिक सुरक्षा कोष कोषमा श्रमिक र रोजगारदाताहरुबाट संकलन भएको रकम बैंकका राखेर ब्याज खान स्थापना भएको होइन। जम्मा भएको रकम विविधीकरण गरेर राष्ट्रिय पुँजीको रुपमा निर्माण गरेर राष्ट निर्माणको लागि रोजगारी सिर्जना गर्न आवश्यक छ। सुरक्षा कोषले लगानीलाई उपयुक्त रुपमा परिचालन गर्छ।’

उनले श्रम ऐनमा दिएका अधिकारहरु प्रयोग गरेर श्रम मन्त्रालयले सम्पूर्ण रोजगारदाता र श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउने काममा प्रतिबद्ध रहेको बताए। उनले सामाजिक सुरक्षा कोषमा आबद्ध हुने विषयमा रहेका कानूनी कमीकमजोरीहरुलाई सहकार्य गरेर कार्यविधि सुधार गर्दै लैजाने बताए।