images
images

गोरखा र नीलकण्ठ नगरपालिकाको संयुक्त बैठक पालुङटारमा

पोखरा । गोरखाको गोरखा नगरपालिका र धादिङको नीलकण्ठ नगरपालिकाको संयुक्त बैठक गोरखाको पालुङटार नगरपालिकामा बसेको छ । बैठकले नीलकण्ठ नगरपालिकामा रामशाह चौतारा बनाउने निर्णय गरेको छ । चालू वर्षदेखि नै चौतारा निर्माणको काम थालिने नीलकण्ठका मेयर भीमप्रसाद ढुंगानाले बताए ।

यस्तै, दुवै नगरपालिकाले एक अर्को पालिकाको ऐतिहासिक तथा सांस्कृतिक महत्व झल्कने पूर्वाधार निर्माण गर्ने निर्णय पनि गरिएको छ । उनीहरुबीच आपसमा प्राविधिक तथा आर्थिक साझेदारी गरिने समझदारी बनेको छ । सोही समझदारी अनुसार यसवर्ष निलकण्ठले आफनै लागतमा गोरखाको इतिहास झल्कने गरी रामशाह चौतारा निर्माण गर्न लागेको हो ।

संयुक्त बैठकमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा दुवै पालिकाको संस्थागत सुदूढीकरणको लागि प्राविधिक तथा आर्थिक सहयोगको आदानप्रदान गर्ने निर्णय गरेको छ । यी दुई पालिकाबीच यसअघि नै भगिनी सम्बन्ध स्थापना भएको थियो ।

दुवै पालिकाले एकअर्का पालिकाका जनप्रतिनिधिहरुको फोटो आफ्नो कार्यकक्षमा राख्ने निर्णय गरिएको गोरखाका मेयर कृष्णबहादुर रानामगरले जानकारी दिए । अर्को संयुक्त बैठक नीलकण्ठ नगरपालिकाले गर्ने निर्णय छ ।