images
images

रुसी सेनामा नेपाली नागरिकको संलग्नताबारे अध्ययन गर्न श्रम मन्त्रालयले बनायो समिति

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुसी सेनामा नेपाली नागरिकको संलग्नतासम्बन्धी अध्ययन गर्न मन्त्रालयका उपसचिव दीपक ढकालको अध्यक्षतामा तीन सदस्यीय समिति बनाएको छ ।

समितिलाई प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको छ । रुसी सेनामा संलग्न भएका चार नेपाली मारिएको घटना सार्वजनिक भएपछि श्रम मन्त्री शरदसिंह भण्डारीले ढकालको अध्यक्षतामा सो अध्ययन गर्न समिति बनाउनुभएको हो । समितिमा वैदेशिक रोजगार शाखाका अधिकृत धनन्जय यादव र कानुन अधिकृत उषा गौतम छन् ।

युक्रेन–रुस युद्धमा परी स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलियाको मृत्यु भएको हो । गत कात्तिक २९ मा रोक्का, मोक्तान र कार्कीको तालिमको क्रममा मृत्यु भएको बताइएको छ भने थपलिया असार २९ मा नै युक्रेनको बाखमुतमा मारिएका थिए । यसबाहेक पनि थप नेपाली युद्धमा परेको हुन सक्ने आशंका गरिएको छ ।

सरकारले रुसी सेनामा नेपालीको संलग्नताका विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन । श्रम मन्त्रालयले समितिलाई रुसी सेनामा नेपाली पठाउने भूमिका निर्वाह गर्ने शैक्षिक परामर्शदाता र ट्राभल एजेन्सीको पहिचान गर्न समेत जिम्मेवारी दिइएको छ ।

त्यस्तै ढकालको समितिलाई अवैध रुपमा घरेलु कामदार लैजाने गिरोहको अध्ययन गर्न समेत जिम्मा दिइएको छ ।