images
images

बैँकले ब्याज लिएको छ भने उजुरी गर्नुस, फिर्ता गराउँछौँः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले कुनैपनि बैँकले ब्याज लिएको भए राष्ट्र बैँकमा गुनासो गर्न आग्रह गरेका छन्।

शुक्रवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले उद्योगी व्यवसायीहरुले बैँकहरुले नियमविपरित ब्याज लिएको स्टेटमेण्ट लिएर राष्ट्र बैँकमा गुनोसो गरे अनुगमन गरी ब्याज फिर्ता गराउने बताए।

उनले राष्ट्र बैँकले अघिल्लो वर्षमा लिइएको बढी प्रिमियम बापतको ४ अर्ब ७६ करोड रुपैयाँ व्यवसायीहरुलाई फिर्ता गराएको उल्लेख गर्दै बैँकले बढी ब्याज लियो भनेर बाहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैँकमा गुनासो गर्न व्यवसायीहरुलाई आग्रह गरे।

व्यवसायीले बैँकले १६/१८ प्रतिशत ब्याज लियो भन्दै नहिँड्न उनले आग्रह गरे।

 

गभर्नर अधिकारीले खराब कर्जाको असरले कर्जाको गुणस्तर समेत कमजोर बनाइरहेको बताए। उनले व्यवसायीहरुले ऋण लिँदा आफ्नो क्षमता नहेरेकाले अहिले तिर्नुपर्दा केही समस्या परेको उल्लेख गरे।

गभर्नर अधिकारीले बैंकको नेट एनपीए १.५ प्रतिशत भन्दामाथि नगएको भन्दै नेपालको बैंकिङ क्षेत्रमा समस्या नभएको बताए।

उनले वाह्य क्षेत्र इतिहासकै धेरै बलियो अवस्थामा रहेको भन्दै १०.३ महिनाको वस्तु र सेवा आयात गर्नसक्ने क्षमता रहेको बताए।