अहिले नै मन्त्रीमण्डल पुनर्गठनको सम्भावना छैनः प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल पुनर्गठनको सम्भावना नरहेको बताएका छन्।

आइतबार कोप–२८ मा सहभागी भएर स्वदेश फर्किएसँगै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले मन्त्रीमण्डल पुनर्गठनबारे गठबन्धनभित्र छलफल नै नभएको स्पष्ट पारे। उनले मन्त्रीमण्डल पुनर्गठन बाहिर हल्ला फिजाउनका लागि मात्रै भएको बताए।

उनले भने, ‘सरकार गठन भएको बेलादेखि नै मन्त्रीमण्डल पुनर्गठन हुन्छ। को मन्त्री हट्छ, को आउँछ, गृहमन्त्री हट्ने भन्नेकुरा धेरै भयो। तर अहिले कुनै त्यस्तो हामीले गठबन्धनभित्र छलफल पनि छैन, कुरा पनि छैन, सोचिएको पनि छैन, म आफैँ प्रधानमन्त्री छु, मेरो दिमागमै छैन। त्यसकारण यो कुरा हल्लामात्रै हो, सत्यता छैन।’