भ्रष्टाचार विरुद्ध कलम चलाउने पत्रकारलाई ५० हजार राशिको पुरस्कार घोषणा

काठमाडौं- भ्रष्टाचार विरुद्ध कलम चलाउने एक जना पत्रकारलाई हरेक वर्ष ५० हजार ५ सय ५५ रुपैयाँ धनराशिको पुरस्कार प्रदान गरिने भएको छ।

नेपाल पत्रकार महासंघ, झापा शाखामा सो राशिको पुरस्कार स्थापना गर्न लागिएको हो। भ्रष्टाचारकै कारण देश विकसित हुन नसकेको अवस्थालाई मध्यनजर गरी अक्षयकोषसहित पुरस्कार स्थापनाबारे हेम-सरिता फाउण्डेसन टेक्सास, अमेरिका र नेपाल पत्रकार महासंघ झापा शाखाबीच आईतवार काठमाडौंस्थित पत्रकार महासंघमा सम्झौता भएको हो।

पुरस्कार झापाका एक जना भ्रष्टाचारबिरुद्ध कलम चलाउने पत्रकारले पाउनेछन्। सम्झौताअनुसार पाँच लाख रुपैयाँको अक्षयकोष राखिनेछ।

सम्झौतामा फाउण्डेशनको तर्फबाट अध्यक्ष हेम पाठक र पत्रकार महासंघका तर्फबाट अध्यक्ष एकराज गिरीले हस्ताक्षर गरे।

सम्झौतापछि कुरा गर्दै अध्यक्ष गिरीले भ्रष्टाचार विरुद्ध, सुशासन प्रवर्द्धन गर्नका निम्ति कलम चलाउने झापाका एक जना सञ्चारकर्मीलाई पुरस्कृति गर्नका निम्ति पुरस्का स्थापना गरिएको बताए।

उनले ५० हजार ५ सय ५५ राशिको पुरस्कार हरेक वर्ष वितरण गरिने बताए।

उनले पत्रकार महासंघ झापामार्फत वितरण गरिने पुरस्कारको अक्षयकोषका लागि हेम सरिता फाउण्डेशनले एकमुष्ट रूपमा ५ लाख रुपैयाँ प्रदान गर्ने र ५ लाख रुपैयाँको ब्याजबाट पुरस्कार वितरण गर्ने पनि बताए ।

कार्यक्रममा हेम-सरिता फाउण्डेशन टेक्सास, अमेरिकाका अध्यक्ष हेम पाठकले आजको सम्झौता नयाँ काम र नयाँ शुरुवात नभइ २०१० मा स्थापना गरिएको पुरस्कार पुनः शुरु गरिएको बताए।

उनले २०१० मा स्थापना गरेको पुरस्कारको निरन्तरतालाई झापाबाटै निर्णय गर्नेगरी पुरस्कार प्रदान गरिने पनि बताए।

पुरस्कार वितरण गरिनुभन्दा पहिला विज्ञापन, निदेशक आह्वान गरी पुष्टि हुनेगरी डकुमेन्ट पेस गरेपछि मात्रै पुरस्कृत हुने व्यक्ति चयन गर्नुपर्ने सम्झाैता गरेकाे अध्यक्ष गिरीकाे भनाइ छ।