images
images

लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिन मिडियालाई प्रधानमन्त्री प्रचण्ड को आग्रह

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिन मिडियालाई आग्रह गरेका छन्।

 

सोमबार सम्पादकहरुसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षता आफूहरुको मात्रै एजेण्डा नभई मिडियाको समेत भएकाले अहिले त्यसको पक्षमा उभिन आग्रह गरेका हुन्।

उनले संविधान र गणतन्त्रको स्वामित्व आम रुपमा फैलिन नसकेको विश्लेषण सुनाउँदै यसप्रति सबैले सोच्नुपर्ने बेला भएको उल्लेख गरे। ‘संविधान र गणतन्त्रको स्वामित्व किन फैलिन सकेन? प्रधानमन्त्री दाहालले सम्पादकहरुसँग अगाडि भने, ‘अटोक्रेसी किन पलायो? सबैले सोच्नुपर्ने बेला भएको छ। लोकतान्त्रिक गणतन्त्रभित्र सबै अट्छ।’ उनले अटोक्रेसीविरुद्ध माओवादीसँगै मिडिया पनि लडेको उल्लेख गरे।

दाहालले कुराकानीका क्रममा भने, ‘हामी भूमिगत हुँदा तपाईंहरु लोकतान्त्रिक गणतन्त्रका लागि अन्तरवार्ता लिन आनुभएको होइन? हिजो अटोक्रेसी विरुद्ध माओवादी मात्रै होइन, मिडिया÷पत्रकार पनि लडेको हो। लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण हुँदा तपाईंहरु पनि पनि प्रतिरोधमा आउनुपर्ने होइन?’

दाहालले अहिलेको व्यवस्थाभित्रै परिवर्तन सम्भव रहेको दाबी गरे। संविधानले सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधिनता बाहेक अरु कुनै पनि विषयलाई परिवर्तन गर्न सक्ने व्यवस्था संविधानले नै गरेकाले बाहिर जानुपर्ने जिकिर गरे।

उनले आफू ३२ सिटेका पार्टीको प्रधानमन्त्री भए पनि जिम्मेवारीका हिसाबले भाग्यमानी रहेको बताए। देश अप्ठेरो अवस्थामा भएकाले मिडियाले समर्थन र सद्भाव आफूलाई आवश्यक भएको उल्लेख गरे।

प्रधानमन्त्री दाहालले नेपाललाई हिन्दूराष्ट्र बनाउन देश भित्र र बाहिरबाट चर्को दबाब परेको सम्पादकहरुलाई खुलाए। संविधान बनाउँदा धेरै छलफल गरेर धर्मनिरपेक्षता राखेको बताउँदै भारतले नेपाललाई हिन्दूराष्ट्र बनाउन दबाब दिएको नाम नलिइ खुलाए। उनले भारतले आफैँलाई हिन्दूराष्ट्र बनाएर देखाउनुपर्ने बताए। दाहालले भने, ‘नेपाल हिन्दू राष्ट्र होस् भन्ने दबाब देशभित्र र बाहिरबाट आइरहन्छ। मैंले जवाफ दिने गरेको छु, हामीलाई भन्नुभन्दा एक अर्ब ३५ करोड जनसंख्या भएको मुलुक आफैँले बनाएर देखाए हुन्न?’

प्रधानमन्त्री दाहालले टिकटकको नियमन गर्न विपक्षी दलका नेता केपी शर्मा ओली र संसदको ठूलो दल कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थन रहेको बताए।

देउवा र ओलीको चाहनाअनुसार सरकारले टिकटकमाथि रोक लगाएको बताउँदै उनले विचार तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार सचेत रहेको जनाए। आफ्नै नातिनातिना रातभर टिकटक हेरेर बसेकाले पनि यसलाई नियमन गर्नुपर्छ भन्नेमा आफू पुगेको दाहालको भनाइ थियो। सामाजिक सञ्जाल नियमन गर्न सरकारले कानुन बनाउन लागेको ब्रिफिङ प्रधानमन्त्रीले गरे।

संघीयता कार्यान्वयन भएकै छैन

दाहालले अहिलेसम्म नेपालमा संघीयता कार्यान्वयन नै नभएको बताए। संघीयता कार्यान्वयनका लागि आफूले पहिला काम नगरेको स्वीकार गर्दै अब कार्यान्वयनका लागि काम गर्ने बताए। आफूलाई मुख्यमन्त्रीहरुले संघीयता कार्यान्वयन गर्न भनेको दिएको र मेधस प्रदेशबाट आन्दोलन गर्ने चेतावनी आएको सुनाए। मधेसले संघीयता कार्यान्वयनका लागि आन्दोलन गरे आफू खुशी हुने उनको भनाइ थियो।

प्रधानमन्त्री दाहाले इजरायलमा हराइरहेका विपिन जोशीको रिहाइका लागि पहल भइरहेको जानकारी दिए। सन्धि सम्झौताबाट सैनिक भर्ती हुन नपाउने देशबाहेक अन्त भर्ना हुन नेपालीलाई अनुमित नभएको बताउँदै त्यसलाई कडाइ गर्ने उल्लेख गरे।

नेपालले भारत र बेलायतबाहेक अरु देशको सैनिक सेवामा जान आफ्ना नागरिकलाई अनुमति दिएको छैन। राजदूत र कुटनीतिक नियोगका प्रतिनिधिलाई बोलाएर आफ्ना नागरिकलाई सेनामा भर्ना नलिन सरकारले आग्रह गर्ने जानकारी प्रधानमन्त्रीले दिए।

 

दाहालले अर्को महिना भारतीय एस जयशंकर नेपाल भ्रमणमा आउँदा दश हजार ८ सय मेटावाटको पञ्चेश्वर जलविद्युत आयोजनको डिपिआर सार्वजनिक हुने दाबी पनि गरे। भारतले पञ्चेश्वर बनाउने भने पनि वर्षौँदेखि डिपिआरसमेत बन्न सकेको छैन। अब त्यो आयोजना अघि बढ्ने उनको विश्वास थियो। त्यस्तै बुढीगण्डकी आयोजनाको उद्घाटन पनि छिट्टै हुने दाहालको भनाइ थियो।