images
images

चारमध्ये तीन राज्यमा भाजपाको जित भएपछि मोदीले भने–विकासका लागि भाजपा खडा छ

कांग्रेसले तेलङ्गना राज्यमा सजिलै जित हासिल गरेको छ । तेलङ्गनामा भाजपको विरोध गर्ने पार्टीका रूपमा चिनिएको बलियो तेलङ्गना राष्ट्र समितिको शासन छ । पाँचौँ राज्य मिजोरममा सोमबार मतगणना हुनेछ । यहाँ भाजपाको क्षेत्रीय सहयोगी दल मिजो नेसनल फ्रन्ट सत्तामा छ ।

यी पाँच राज्यमा गत महिना मतदान भएको थियो र १६ करोडभन्दा बढी मानिस मतदान गर्न योग्य थिए । भारतमा मतदान सामान्यतया ठूलो जनसङ्ख्याका कारण चरणबद्ध रूपमा गरिन्छ । प्रधानमन्त्री मोदीले आफ्नो पार्टी विजयी भएका राज्यहरूमा ‘मतदाताको अटुट समर्थन’ का लागि मतदाताहरूलाई धन्यवाद दिएका छन । “छत्तीसगढ, मध्यप्रदेश र राजस्थानको नतिजाले भारतीय जनता सुशासन र विकासको राजनीतिमा दृढ छन् भन्ने सङ्केत गर्दछ, सुशासन र विकासका लागि भाजपा खडा छ”, मोदीले सामाजिक सञ्जाल एक्समा भने ।

कांग्रेस नेता राहुल गान्धीले तीन राज्यमा हार स्वीकार गरेका छन् । राहुलले पनि एक्समा लेखेका छन्–“विचारको लडाइँ जारी रहने छ ।’ सो क्रममा उनले तेलङ्गनाका जनतालाई धन्यवाद पनि दिएका छन् ।
विजयी भएको खुशीयालीमा भाजपाका कार्यकर्ताहरू केहीले मोदीको मुखुन्डो लगाएर नाचेका थिए भने मिठाइ बाँड्दै खुशीको प्रतीकका रूपमा एकआपसमा रङ दलेका थिए ।

नयाँ दिल्ली पार्टी मुख्यालयमा प्रधानमन्त्री मोदी भाजपा कार्यकर्ताहरूबीच हिँड्नुभयो । सम्बोधनमा उहाँले इमानदारी, पारदर्शिता र सुशासनको जित भएको बताए । करिब एक दशक सत्तामा रहनुभएका मोदी र उहाँको पार्टी राष्ट्रियस्तरमा लोकप्रिय भएको छ । उहाँले सन् २०२४ मा लगातार तेस्रो पटक जित हासिल गर्नुहुने सर्वेक्षणहरूले देखाएका छन् ।

यद्यपि इन्डिया भनिने २८ विपक्षी दलहरूको नयाँ गठबन्धनबाट मोदीको पार्टीलाई राष्ट्रियस्तरमा चुनौती हुने अपेक्षा गरिएको छ । इन्डियाको नेतृत्व कांग्रेसले गरेको छ । निर्वाचनअघि मतदाताहरूलाई आकर्षित गर्नका लागि मोदी र गान्धी दुवैजना पाँचै राज्यमा पुगेका थिए । उत्साहपूर्ण निर्वाचन अभियानमा दुवै नेताले मतदाताहरूलाई अनुदान, ऋण मिनाहा र रोजगारीको प्रत्याभूति दिएका थिए ।