images
images

प्रधानसेनापति शर्माको निर्देशन: संस्था बाहिरबाट अमर्यादित क्रियाकलापमा संलग्न नहुन

काठमाडौं- नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले संस्थाबाहिरबाट अमर्यादित क्रियाकलापको प्रयासमा संलग्न नहुन निर्देशन दिएका छन्।

मंगलबार कमान्डिङ अफिसर ओरिएन्टेशन कार्यक्रमका सहभागीहरूलाई सम्बोधन गर्दै उनले यस्ताे निर्देशन दिएका हुन्।

प्रधानसेनापति शर्माले व्यक्तिगत स्वार्थका लागि प्रचार गर्ने सकल दर्जालाई कारबाही गर्ने पनि बताएका छन्। व्यक्तिगत स्वार्थबाट प्रेरित भएर संस्थाको हितप्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्ति अन्त्य गर्न नेपाली सेना प्रतिबद्ध रहेको उनकाे भनाइ थियाे।

प्रधानसेनापति शर्माले नेपाली सेनामा सरुवा, बढुवा लगायत वृत्तिविकाससम्बन्धी कार्यका क्रममा गुनासो वा उजुरी गर्ने वैधानिक निकाय रहेको र यसबारे सकलदर्जालाई जानकारी पनि भएको भन्दै संस्थाबाहिरबाट अमर्यादित क्रियाकलापको प्रयासमा संलग्न नहुन सचेत गराए।

उनले नेपाली सेना मुलुकको संविधान, विधि, पद्धति र उत्कृष्ट परम्पराहरूबाट निर्देशित रहेर दायित्व निर्वाहमा प्रतिवद्ध रहेको बताए। व्यक्तिगत स्वार्थबाट प्रेरित भएर संस्थाको हित प्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्तिलाई अन्त गर्न आफू प्रतिवद्ध रहेको दाबीसमेत गरे।

साथै प्रधानसेनापति शर्माले शैक्षिक प्रमाणपत्र, नागरिकता जस्ता कागजातहरू सम्बन्धित निकायबाट यकिन गरेरमात्रै जंगी अड्डाले कारबाही अगाडि बढाउने गरेको दाबीसमेत गरे।