images
images

एनसेल प्रकरण: रविको चुनौतीयुक्त प्रश्न: कुन नेताले कति खाए, छानबिन गर्न तयार हाे?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एनसेल प्रकरणमा नेताहरूलाई चुनाैती दिएका छन्। उनले एनसेलको शेयर खरिद-बिक्रीका विषयमा कुन नेताले कति रकम बुझेका छन् भनी खुला रुपमा छानबिन गर्न तयार हाे भन्दै चुनाैती दिएका हुन्।

 

मंगलबार बसेकाे सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले एनसेलको शेयर खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेकाे थियाे। साेही निष्कर्षलाई लिएर रास्वपा सभापति लामिछानेले प्रश्न गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्पाइस नेपालकाे नाममा अहिलेकाे एनसेल जन्मिँदादेखि नै चलखेल थियाे। टेलियासाेनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारकाे ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन कुन दलका कुन कुन नेताले कति कती रकम खाए, कुन कुन निकायका दैला दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हाे?’

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले एनसेलको शेयर खरिद बिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको छ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले नेपालको कानून बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानूनी व्यवस्था अुनकुल खरिदबिक्री नभएको बताएका थिए।