images
images

आज देश जर्जर भएको भन्दै ज्ञानेन्द्र शहा द्वारा दुःख प्रकट

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले जनताले आफूलाई ‘आउ देश बचाउ’ भनिरहेको बताएका छन् । उनले आफू जहाँ पुगे पनि देश बनाउ र देश बचाउन आउ भन्ने जनआवाज सुनेको बताएका छन् ।

बिहीबार भैरहवामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा राजा ज्ञानेन्द्रले भने, ‘म जता जाउँ, जहाँ पुगौं, जनआवाज उठेको सुन्छु । मलाई आउ हाम्रो देश बनाउ र देश बचाउ, देशको सभ्यता र समृद्धि बढाउँ । यहाँ खडा भएर म भन्छु म बोलिरहेछु, बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना, इच्छा, आकाँक्षा पोखिरहेछु ।’

उनले आफू देश छाडेर कहिँ नगएको र सदा नेपालीको साथमा नेपालभित्रै रहेको बताउँदै नेपालीहरुको सुख दुःख, सुविधा असुविधा, बाधा पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको बताए ।

राजा ज्ञानेन्द्रले आज देश जर्जर भएको भन्दै दुःख पनि प्रकट गरे । उनले बेराजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं युवा जनशक्ति विदेशिएको बताउँदै थपे, ‘देशको माया नभएर होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर हाम्रो युवा जमात बाहिरिएको हो । यस्तो अवस्थाको अन्त हुनुपर्दछ । देशमै उत्पादन, उद्यम, इलम, सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्नुपरेको छ । देशलाई खोक्रो पार्ने गरि चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नै पर्दछ ।’

राजा ज्ञानेन्द्रले वीरता, पराक्रम, पुरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको गौरवशाली देश अहिले सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने अपमानित जस्तो बन्दै गएको स्वाभिमानी जनताको अनुभूति रहेको बताए । 

उनले भने, ‘हाम्रा बुढापाका, अनुभवीहरुको विचार भन्नुपर्दा हाम्रो राष्ट्रको अस्तित्व माथि आज खिया लाग्दै गइरहेको छ । हामी झन परावलम्बी, परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिँदै गइरहेका छौं । हाम्रो विचारमा यसप्रकार हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन् ।’

राजा ज्ञानेन्द्रले नेपालमा हुने राजनीतिक र शासकीय परिवर्तनमा विदेशी शक्तिको टेको चाहिने भाष्य बनिरहेको बताए । उनले नेपालीहरुकै बलबुतामा सबै भएको उल्लेख गर्दै भने, ‘नेपालभित्र हुने र गरिने राजनीतिक तथा शासकीय परिवर्तनमा कुनै न कुनै प्रकारले दायाँ बायाँ भित्री तथा बाह्य शक्तिको टेको चाहिन्छ भन्ने एउटा भाष्य पनि हामीकहाँ छ तर हामीलाई लाग्छ नेपाल राष्ट्रको एकीकरणदेखि आधुनिकीकरणसम्मका यावत प्रक्रियामा हामी नेपालीहरु कै बलबुता र आफ्नै राष्ट्रिय भावधाराबाटै सम्पादन भई आएका हुन् । त्यसैले के गर्दा र के कस्तो विधि व्यवस्था बदल्दा हाम्रो राष्ट्रिय मान्यता बन्छ ? अनि कसप्रकार अघि बढ्दा नेपाल र नेपालीको सर्वोत्तम हित हुन्छ ? त्यो हामी आफैंले तय गर्ने विषय हो । हामी सबैको दृढ प्रयत्न यसै अनुरुप हुनु पर्दछ भन्ने हामीलाई लाग्छ ।’

राजा ज्ञानेन्द्रले सबै एकै ठाउँमा उभिएर राम्रो मार्गचित्र बनाउनुपर्ने भन्दै सबै कुराको समीक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार गरौं, देश हामीले नै बनाउने हो ।’ भने । उनले हामी मात्र ठीक अरु बेठीक, हाम्रो बाटो मात्रै सुबाटो अरुको कुबाटो भन्ने द्वन्द, विग्रह, विवादबाट उठेर नेपालको माटो र नेपाली बाटो समातेर हिड्दा सबैको भविष्य राम्रो भएको बताए । गणतन्त्र घोषणापछि राजा ज्ञानेन्द्र गद्दीविहीन बन्न पुगेका छन् ।

यस्तो छ राजा ज्ञानेन्द्र शाहको सम्बोधनः

श्री ५ महाराजाधिराज ज्ञानेन्द्रवीर विक्रम शाहदेवबाट

भैरहवामा बक्सेको सम्बोधन

उपस्थित महिला तथा सज्जनवृन्द,

पवित्र लुम्बिनी क्षेत्रको यो समथर सुन्दर नगरीमा आएर, केही शब्द बोल्ने मौका मिलेकोमा खुशी लागेको छ। आयोजक–प्रबन्धकर्ता सबैमा धन्यवाद।

नेपाल, बुद्ध जन्मेको देश, सगरमाथाको देश – सनातनी वैदिक संस्कृति विविध धर्म र सभ्यताको देश। अनि अनेक श्रोत साधन सम्पदाले भरिपूर्ण भएको समृद्धशाली देश। यस्तो सुन्दर, यति मनोरम यतिका सम्पदा र कतिकति – मूल्यमान्यता तथा सभ्यता भएर पनि आज हामी कताकता हराइरहेका छौँ – कताकता आफै हारिरहेकाछौँ।

म जता जाउँ जहाँ पुगौं – जनआवाज उठेको सुन्छु – मलाई आउ हाम्रो देश बनाउ र देश बचाउ – देशको सभ्यता र समृद्धि बढाउ। यहाँ खडा भएर म भन्दछु – म बोलिरहेछु, देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना इच्छा आकांक्षा पोखिरहेछु। म कतै अन्त गएको छैन – सदा सदा नेपालीका साथमा छु – नेपालभित्रै छु – नेपालीहरुको सुख दुःख, सुविधा असुविधा, बाधा पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु।

समाज, कानून र व्यवस्था विना अस्तित्वमा रहनु हुँदैन। देश सुहाउँदो र बलियो आविष्कारहरुमार्फत अगाडि बढ्नुपर्छ। तर, आज देश जर्जर भएको छ। बेराजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं युवाजनशक्ति विदेशिएको छ। देशको माया नभएर होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर हाम्रो युवा जमात बाहिरिएको हो। यस्तो अवस्थाको अन्त हुनु पर्दछ। देशमै उत्पादन, उद्यम, इलम, सीप , शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्नुपरेको छ। देशलाई खोक्रो पार्ने गरि चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नै पर्दछ।

राष्टिय उत्साह प्रतिभाको महान निवास हो। वीरता, पराक्रम, पुरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको हाम्रो गौरवशाली देश अहिले सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने – अपमानितजस्तो बन्दै गएको स्वाभिमानी जनताको अनुभूति छ। हाम्रा बुढापाका,
अनुभवीहरुको विचार भन्नु पर्दा हाम्रो राष्ट्रकोअस्तित्वमाथि आज खिया लाग्दै गइरहेको छ – हामी झन् परावलम्बी, परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिदै गइरहेका छौँ। हाम्रो विचारमा यसप्रकार हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन।

सदाचारी राजनीतिको युग बितिसकेको छ। हामी चिसो बहानामा बाँचिरहेका छौँ। नेपालभित्र हुने र गरिने राजनीतिक तथा शासकीय परिवर्तनमा कुनै न कुनै प्रकारले दायाँ बायाँ, भित्र तथा बाह्य शक्तिको टेको चाहिन्छ, भन्ने एउटा भाष्य पनि हामी कहाँ छ तर हामीलाई लाग्दछ – नेपाल राष्ट्रको एकीकरणदेखि आधुनिकीकरणसम्मका यावत प्रकृयामा हामी नेपालीहरुकै बलबुता र आफ्नै राष्ट्रिय भावधाराबाटै सम्पादन भई आएका हुन्। त्यसैले के गर्दा र के कस्तो विधि व्यवस्था बदल्दा हाम्रो राष्ट्रिय मान्यता बन्छ, अनि कसप्रकार अघि बढ्दा नेपाल र नेपालीको सर्वोत्तम हित हुन्छ – त्यो हामी आफैले तय गर्ने विषय हो। हामी सबैकोदृढ प्रयत्न यसै अनुरुप हुनु पर्दछ भन्ने हामीलाई लाग्दछ।

त्यसैले म भन्दछु, आउँ अब हामी सबै एकै ठाउँमा उभियौँ अनि सोचौं र सबै कुराको समीक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार गरौँ। देश हामीले नै बनाउने हो – हाम्रै श्रोतसाधनको परिचालन गरेर देशको समृद्धि हामीले नै अघि बढाउने हो।

हामी मात्र ठीक अरु बेठीक हाम्रो बाटो मात्रै सुबाटो अरुको कुबाटो भन्ने द्वन्द्व, विग्रह, विवादबाट उठेर हामी नेपालको माटो र नेपाली बाटो समातेर हिडौँ। हामी सबैको भविष्य, सुख शान्ति यसैमा छ।

विगतको सबै दुःख बिर्सिदेउँ,

मायाले मायालाई भरिदेउँ,

घृणाको आगोलाई कर्त जलाइ देउँ,

पहिले यो आगोलाई मिलेर निभाइ देउँ,

भाग्यको सिमा हँदैन, हुनु पनि हुँदैन,

अब भाचिएको टुक्राहरु जोडी देउँ,

उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने,

पहिले अन्याय अत्याचार मुक्त गरिदेउँ,

अनुहार फेरि फेरि षडयन्त्र नगर,

त्यस्ताको चालबाट आफूलाई बचाइदेऊँ

सबैमा फेरि एकपटक हाम्रो धन्यवाद,

जय नेपाल

भैरहवा

२०८० पुष १९ गते