images
images

दलका नेताहरुलाई शीतल निवास बोलाएर राष्ट्रपतिले के भने [ राष्ट्रपतिको भनाइ जस्ताको तस्तै]

काठमाडौं, १ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका सन्दर्भमा चासो देखाएका छन् । आज (सोमबार) माघी पर्वका अवसरमा दलका नेता र सांसदहरुलाई शीतल निवासमा बोलाएर उनले विश्वभरनै नेपालको संविधानबारे प्रशंसा भइरहेको अवस्थामा यसको कार्यान्वयन पक्ष पनि बालियो बनाउन आग्रह गरेका हुन् ।

‘अल्पसंख्यक, पिछडिएका, दुर्गमवासी जनतालाई अधिकार प्रधान गरेको छ । यो बेजोड छ । दक्षिण एसियाका मुलुकहरुमा कमै होला, तल्लो तहका जनताले अधिकार पाएको संविधान भनेर सबैले यो संविधानलाई अत्यन्त प्रशंसा गरेका छन् ।’ राष्ट्रपति पौडेलले भने, ‘अब यसलाई कार्यान्वयनमा ल्याउने कुराको आवश्यकता छ । व्यबहारमा ल्यान पर्यो । यो संविधानले उत्पीडित र उपेक्षित वर्गलाई अधिकार दिएको छ । त्यो सार्थक हुनुपर्यो ।’

संविधानले परिकल्पना गरेका कुरा कानुन बनाएर व्यवस्थित गर्न पनि उनले सांसदहरुलाई आग्रह गरे । उनले जनताले आशा गरेका कुरा निराशामा नबदल्नसमेत सांसदहरुलाई आग्रह गरे । अहिले जनतामा निराशा आउनुको कारण संविधान कार्यान्वयनको कमी भएको उनको ठहर छ ।

‘त्यसलाई हामीले व्यवहारमा उर्तानका लागि कानुन बनाउन छ । तपाईँहरु संसद्का मित्रहरु सबैले संविधानले परिकल्पना गरेको कुरालाई कानुनद्वारा व्यवस्थित गर्ने कुरा आवश्यकता छ ।’ राष्ट्रपति पौडेलले भने, ‘ती कानुनहरुको निर्माण छिटोभन्दा छिटो हुन जरुरी छ भन्ने मलाई लागिरहेको छ । मेरो तपाईँहरुलाई अनुरोध, शुभकामना र आग्रह पनि संविधान कार्यान्वयनमा जाउँ । जनताले जे पाइन्छ भन्ने आशा गरेका छन्, आशालाई निराशामा परिणत नगरौं ।’

  • राष्ट्रपतिको भनाइ जस्ताको तस्तै :

म यहाँ आएपछि देशी विदेशी निकायका प्रतिनिधिहरूसँग मैले भेटेको छु । ती सबैले नेपालको अहिलेको संविधानलाई मुक्तकण्ठले स्वागत गरेका छन् । यसले तल्लोभन्दा तल्लो वर्गलाई दिएको अधिकार महिला, दलित, अल्पसङ्ख्यक, पिछडिएका दुर्गमवासी र गाउँका जनतालाई जो अधिकार प्रदान गरिएको छ यो बेजोड छ ।

यतिको संविधान दक्षिण एसिया या दुनियाँका मुलुकमा कमै होला । यति धेरै तल्लो तहका जनताले अधिकार पाएको संविधान भनेर सबैले अत्यन्त प्रशंसा गरेका छन् । र, अब यसलाई कार्यान्वयनमा ल्याउने कुराको आवश्यकता छ । व्यवहारमा ल्याउनुपर्‍यो । संविधानले जो पिछडिएका र उत्पीडित वर्गलाई, उपेक्षित वर्गलाई जे अधिकार दिएको छ त्यो सार्थक हुनुपर्‍यो । त्यसलाई हामीले व्यवहारमा उतार्नका लागि कानुनहरू बनाउनुपर्नेछ ।

तपाईंहरू संसद्का मित्रहरू सबैले विशेष गरी ध्यान दिनुपर्ने विषय संविधानले जे परिकल्पना गर्‍यो,त्यसलाई कानुनद्वारा व्यवस्थित गर्ने आवश्यकता छ । ती कानुनहरूको निर्माण छिटोभन्दा छिटो हुन जरुरी छ भन्ने मलाई लागिरहेको छ । मेरो तपाइहरू सवैलाई अनुरोध, शुभकामना र आग्रह पनि – कि संविधान कार्यान्वयनमा जाऊ । जनताले जे पाइन्छ भन्ने आशा गरेका छन्, आशालाई निराशामा परिणत नगरौँ ।

देशमा निराशा र इत्यादि कुराहरू आएका छन्–त्यो संविधान कार्यान्वयनको कमीले हो । अव पछाडि फर्कन कोही जनता चाहँदैनन् । मैले नेपाली जनताको पनि चाहाना र भावना बुझेको छु । विदेशबाट आएकाहरूको मात्र होइन देशभित्रका जनताको अगाडि बढ्ने चाहना छ । अगाडि बढ्ने हो र संविधान कार्यान्वयन गर्ने हो । र देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र साकार पार्ने हो ।

आज हामीले यही अठोट गर्नुपर्छ कि समावेशी लोकतन्त्र साकार पारेर छाड्छौ । आज म माघीको दिनमा यो पर्व सबै नेपालीको भइसक्यो अव । सबै नेपालीले मनाउँदै आएको र हामीले पनि सानैदेखि माघे सङ्क्रान्तिमा खिचडी र घिउ चाकु खाने चलन गाउँघरको पहिलादेखिकै हो । त्यसो भएकाले आज यो नेपालीहरूकै विशेष मौलिक पर्वमा तपाइहरू सबैलाई हार्दिक शुभकामना दिन्छु ।