images
images

ढुङ्गा उत्खननले पानीका मुहान सुक्दै

मुग्लिन – चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित चन्दली डाँडामा ढुङ्गा उत्खननसँगै पानीको मुहान सुक्न थालेका छन्। बिक्री वितरण गर्ने उद्देश्यका साथ घर छाउने ढुङ्गा उत्खनन हुन थालेपछि पानीका मुहान सक्दै जान थालेका हुन्।

स्थानीय स्वास्थ्य चेपाङको नेतृत्वमा उक्त स्थानमा ढुङ्गा उत्खनन भइरहेको स्थानीयवासी रेशम चेपाङले बताए। ‘अवैधरुपमा उक्त स्थानमा ढुङ्गा उत्खनन हुने गरेको छ। ती ढुङ्गा चितवनका विभिन्न होटल निर्माण प्रयोजनका लागि प्रयोग गरिन्छन्,’ उनले भने।

अवैधरुपमा ढुङ्गा उत्खनन गर्न थालेपछि खानीको डाँडाभन्दा तल रहेका चेपाङ गाउँ गारघर, जैथली, चौकीडाँडा, साप्रेनी र बङ्ग्याङलगायतमा पहिरोको जोखिममा बढेको छ। करिब २० वर्ष अघि पनि उक्त स्थानबाट ढुङ्गा निकाल्दा पहिरो गएको थियो। पुनःसोही ठाउँबाट जथाभावी ढुङ्गा निकाल्न थालेपछि स्थानीयमा पहिरोको जोखिम बढेको भन्दै त्रास छाएको छ।

ढुङ्गा उत्खनन गर्दै गर्दा ती गाउँमा पिउने पानीको मुहानमा सुक्दै गएको रेशमले बताए। गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ र वडाध्यक्ष सन्तबहादुर रानालाई जानकारी गराउँदा पनि कुनै चासो नदिएको भन्दै अनुगमनसमेत गर्न नआएको उनको भनाइ थियो।

ढुङ्गा उत्खनन कार्य रोक्न आग्रह गर्दा उत्खननको नेतृत्व गर्ने स्वास्थ्य चेपाङले चुप लागेर बस्न भनी धम्की दिएको रेशमले जानकारी दिए। उनले भने, ‘ढुङ्गा उत्खनन भएको थाहा पाएपछि गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षलाई जानकारी गराएँ, तर उहाँहरु अनुगमनमा आउनु भएको छैन। पानीको मुहान सुक्दै गएको र पहिरोको जोखिम भएकाले उत्खनन कार्य रोक्न वडासदस्य विक्रम चेपाङलाई आग्रह गरे पनि हालसम्म सुनुवाई भएको छैन। ढुङ्गा उत्खनन गर्ने ठेकेदारले चुप लागेर बस्ने धम्की दिएको छ।’

तीन साताअघिदेखि अवैधरुपमा ढुङ्गा उत्खनन गरेको थाहा पाएपछि वडासदस्य चेपाङ सो स्थानमा निरीक्षणमा पुगेका थिए। गाउँपालिका अध्यक्ष गुरुङसँग यस विषयमा प्रतिक्रिया लिँदा उक्त स्थानमा ढुङ्गा उत्खननका लागि पालिकाले कसैलाई अनुमति नदिइएको बताए। ‘हामीलाई पनि त्यहाँ ढुङ्गा निकालेको जानकारी आएको छ। आइतबार हामी निरीक्षणमा जाने तयारीमा छौँ,’ उनले भने।

यसैबीच श्री नागेन सामुदायिक उपभोक्ता समिति इच्छाकामना–१ ज्यान्दालाले विज्ञप्ति निकालेर ढुङ्गा उत्खनन कार्य रोक्न आग्रह गरेको छ। उक्त सामुदायिक वनभित्र रहेको सार्वजनिक जग्गाको ढुङ्गा उत्खननसँगै पहिरोको जोखिम बढेको र चन्दलीको टारसँग जोडिएको उक्त जग्गा मासिँदै गएको जनाइएको छ।

उक्त स्थानमा प्याराग्लाइडिङको सफल परीक्षणसमेत भएकाले पर्यटकीय गन्तव्यको रुपमा प्रचुर सम्भावना भएको वडासदस्यसमेत रहेका वन उपभोक्ता समितिका अध्यक्ष विक्रम चेपाङले बताए। ढुङ्गा उत्खननले प्याराग्लाइडिङलाई समेत असर पर्ने उनको भनाइ थियो।रासस