images
images

भारत जानुअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपति:कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको औपचारिक भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । राष्ट्रपति पौडेललाई भेट्न बुधबार विहान प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका हुन् ।

भेटमा प्रधानमन्त्री दाहालले आजदेखि हुने भारत भ्रमणको जानकारी गराएका थिए। उनले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई जिम्मेवारी तोक्न आग्रह गरेका छन्।

चार दिने भारत भ्रमणमा प्रधानमन्त्री दाहाल आज दिउँसो दिल्ली जाँदैछन्। प्रधानमन्त्रीको टोली शनिबार स्वदेश फर्किनेछ।

गत ​११ पुसमा तेस्रो पटक मुलुकको प्रधानमन्त्रीमा नियुक्त भएपछि दाहालको यो कार्यकालको यो पहिलो विदेश भ्रमण हो।

मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरू पनि सहभागी हुने सचिवालयले जनाएको छ।

सचिवालयमा उक्त टोलीमा भौतिक पूर्वाधारमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र एनपी साउँद, अर्थ प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाललगायत रहनेछन्।

साथै, टोलीमा प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयका साथै डेढ दर्जन सचिव सहभागी हुनेछन्। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, लगानी बोर्डका सहसचिव अमृत लम्साल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानी, परराष्ट्रका भारत हेर्ने सहसचिव रामप्रसाद सुवेदी, चिफ अफ प्रोटोकल सुधीर भट्टराई, प्रधानमन्त्री कार्यालयका सहसचिव नवराज ढुंगाना, उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी, ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाललाई सूचीमा समावेश छन्।

यसैगरी, प्रधानमन्त्रीको सचिवालयबाट प्रमुख सचिवसमेत रहेकी छोरी गंगा दाहाल, प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेशकुमार मल्ल हुनेछन्। प्रधानमन्त्रीका निजी चिकित्सक युवराज शर्मा र चार सुरक्षा अधिकारी पनि हुनेछन्।

यस्तै, सञ्चारकर्मी ४ जना, सुरक्षाकर्मी ४ जना र भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासहित दिल्लीस्थित दूतावासका ५ अधिकारीको नाम समावेश छ। सरकारले खर्च बेहोर्ने भ्रमण टोली सदस्यको संख्या ४७ छ। ५० जना व्यवसायी र १३ जना सञ्चारकर्मीहरु निजी खर्चमा जानेछन्।

केही सदस्य थपघट हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्रीसहितको टोली आज दिउँसो साढे १ बजे नेपाल वायुसेवा निगमको नियमित जहाजबाट नयाँदिल्ली जाने तयारी छ।