images
images

कार्यसम्पादन मूल्याङ्कनका आधारमा भरतपुर महानगरपालिका पहिलो

चितवन – बागमती प्रदेशका ३ महानगरपालिका मध्ये कार्यसम्पादन मूल्याङ्कनका आधारमा भरतपुर महानगरपालिका पहिलो भएको छ ।

सरकारले काठमाडौँ, भरतपुर र ललितपुर महानगरपालिकाका लागि ३ अर्ब ४७ करोड ७१ लाख रुपैयाँ अनुदान हस्तान्तरण गरेको हो भने हेटौँडा उपमहानगरपालिकालाई एक अर्ब १४ करोड ५० लाख रुपैयाँ यो शीर्षकमा बजेट विनियोजन गरिएको छ ।

कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको भरतपुरले संघ सरकारबाट ६१ लाख रुपैयाँ अनुदान प्राप्त गर्दा ललितपुरले ४९ लाख रुपैयाँ र काठमाडौँले ४८ लाख रुपैयाँ अनुदान वित्तीय हस्तान्तरण पाएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बागमती प्रदेशका ३ महानगरपालिका र एक उपमहानगरपालिकालाई ४ अर्ब ६२ करोड २१ लाख रुपैयाँ विभिन्न अनुदान शीर्षकमा बजेट वक्तव्यमार्फत वित्तीय हस्तान्तरण गरेको छ ।

सरकारले समानीकरण, सशर्त, विशेष र समपूरक शीर्षकमा बागमतीका ३ महानगरपालिकाका लागि ३ अर्बभन्दा बढी अनुदान वित्तीय हस्तान्तरण गरेको छ भने प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौँडाका लागि एक अर्बभन्दा बढी रकमको वित्तीय हस्तान्तरणसहित बजेट विनियोजन गरेको छ ।

सबैभन्दा बढी काठमाडौँ महानगरपालिकाले २ अर्ब १४ करोड ३१ लाख रुपैयाँ, भरतपुर महानगरपालिकाले १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ र ललितपुर महानगरपालिका १ अर्ब १३ करोड ८७ लाख रुपैयाँ पाउने भएका छन् ।