images
images

भरतपुर महानगरपलिका को बजार अनुगमन जारी:जुस सेन्टर बन्द:क्यान्सर रोग लाग्ने विषादीको प्रयोग

भरतपुर । वीरेन्द्र बहुमुखी क्याम्पसअगाडिको वीरेन्द्र जुस सेन्टर भरतपुर महानगरपालिकाको अनुगम टोलीले बन्द गराएको छ ।

फलफुल पकाउन क्यान्सर रोग लाग्न सक्ने विषादीको प्रयोग गरेको पाइएपछि जुस पसल बुधबार बन्द गराइएको हो । उक्त जुस पसलमा लस्सी बनाउँदा कुहिएको केरा प्रयोग गर्ने गरेकोसमेत पाइएको छ ।

मानव स्वास्थ्यमा गम्भीर असर गर्ने विषादीको प्रयोग गरेको पाइएपछि पसल बन्द गराइएको भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनालले बताए । उक्त पसललाई खाद्य ऐन अनुसार थप कारबाहीको प्रक्रिया अघि बढाइने उनले बताए । बजार अनुगमनका क्रममा उक्त जुस सेन्टरमा पुगेको अनुगमन टोलीले पसल बन्द गर्ने निर्णय गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले फलफूल पकाउन प्रतिबन्धित विषादी क्याल्सियन कार्बाइडको प्रयोग गरेको पाइएको बताए । अक्षम्य गल्ती गरेकाले पसल सञ्चालकलाई खाद्य ऐनअनुसार कारबाही हुने उनले बताए ।