images

तनहुँमा ५० बढी कांग्रेसका कार्यकर्ता माओवादीमा प्रवेश

तनहुँ, २६ मंसिर – तनहुँमा ५० जनाभन्दा बढी नेपाली कांग्रेस कार्यकर्ता पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

ऋषिङ गाउँपालिका- १ झापुटारमा सोमबार र आँबुखैरेनी गाउँपालिकाको आँबुखैरेनीमा मंगलबार आयोजित माओवादी केन्द्रको पालिका अधिवेशन र खबरदारीसभामा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले टीका र माला लगाएर स्वागत गरे । झापुटारमा श्यामला थापासहित २७ जना र आँबुखैरेनीमा पदम नेपालीसहित २५ जना पार्टी प्रवेश गरेको माओवादीले जनाएको छ ।

कार्यक्रममा पुनले वर्तमान कांग्रेस-एमाले गठबन्धनको सरकार भ्रष्टाचार, राज्य दोहन र बेचबिखनमा संलग्न आफ्ना मान्छेहरुको संरक्षण र स्वार्थ समूहको चाहनामा सरकार अघि बढेकाले जनता ती पार्टीहरुको विकल्पको खोजीमा रहेको बताए ।

आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पूर्ववर्ती सरकारले १८ महिनामा सुशासन, भष्टाचार अन्त्य तथा राज्य दोहनमा संलग्न शक्तिशाली भनिएका व्यक्ति तथा सामन्ती प्रथाका रुपमा व्याप्त मिटर ब्याजमा संलग्नमाथि अनुसन्धान र कारबाही गरेका कारण जनताले फेरि एकपटक माओवादी केन्द्रलाई विकल्पको रुपमा रोज्ने अवस्था आएको बताए ।

वर्तमान सरकार गठन भएपछि हरेक साताजसो भ्रष्टाचार, बेथिती र अनियमितताका घटना सार्वजनिक हुन थालेको टिप्पणी पुनको थियो ।