काठमाडौंको बालाजु बाइसधारा मेलाको अवसरमा बेष्ट बालाजु युथ क्लब द्वारा आयोजित भव्य सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा हास्य कलाकार मदन कृष्ण श्रेष्ठ को विशेष उपस्थिति रहेको थियो। त्यसैगरी, विशिष्ट अतिथिहरूमा काठमाडौँ महानगरपालिका वडा नं. १६ की अध्यक्ष रोजिना श्रेष्ठ, युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व मदनकुमार श्रेष्ठ लगायत विभिन्न सामाजिक तथा बौद्धिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा राष्ट्रिय कलाकारहरूको आकर्षक प्रस्तुति, सांगीतिक कार्यक्रम, नृत्य तथा विविध सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएका थिए। स्थानीय बासिन्दा, युवायुवती तथा दर्शकहरूको उत्साहजनक उपस्थिति कार्यक्रमको मुख्य आकर्षण बनेको थियो। आयोजकका अनुसार, यस कार्यक्रमले नेपाली मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ। साथै, यस्ता गतिविधिहरूले युवाहरूलाई सकारात्मक तथा सिर्जनशील कार्यतर्फ प्रेरित गर्दै सामाजिक एकता मजबुत बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।
बेष्ट बालाजु युथ क्लब विगतदेखि नै सामाजिक सेवा, युवा सशक्तीकरण, सरसफाइ अभियान, जनचेतनामूलक कार्यक्रम तथा विपद् व्यवस्थापन जस्ता क्षेत्रमा सक्रिय रूपमा क्रियाशील रहँदै आएको छ। क्लबले भूकम्प राहत, स्थानीय सुरक्षा सहयोग तथा विभिन्न सामाजिक सेवामूलक कार्यहरूमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
उक्त कार्यक्रम प्रमुख संरक्षक राजीव श्रेष्ठ को अभिभावकत्वमा सम्पन्न भएको हो। उहाँको मार्गदर्शन र समन्वयमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। आगामी दिनहरूमा पनि उहाँबाट निरन्तर सहयोग र साथ प्राप्त हुने विश्वास क्लबले व्यक्त गरेको छ।
कार्यक्रमको अध्यक्षता जीवन अधिकारी ले गर्नुभएको थियो। आफ्नो सम्बोधनमा अध्यक्ष अधिकारीले क्लब लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै समुदायमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो। साथै, युवाहरूलाई अगाडि बढाउन क्लबले निरन्तर प्रेरणा प्रदान गर्दै आएको र आन्तरिक तथा पर्यावरणीय पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो।
उहाँले युवाहरू देशका कर्णधार भएको उल्लेख गर्दै नयाँ सोच र नवीन तरिकाबाट समाज विकास तथा पर्यटन प्रवर्द्धनमा अझ सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघ–संस्था, सहयोगी तथा व्यक्तिहरूप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।









