बुटवल, २९ मंसिर – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शिता कायम गर्न पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । शनिवार नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन् ।
भ्रष्टाचार अन्त्यका लागि पारदर्शिता गर्न र गराउन पत्रकारिता जगतको महत्त्वपूर्ण भूमिका रहने र त्यो भूमिकालाई अझ सशक्त रूपमा निर्वाह गर्न आग्रह गरे । पत्रकार महासङ्घ अर्घाखाँचीमा गणेश खनालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । सो अवसरमा मुख्यमन्त्री आचार्यले निर्वाचित पदाधिकारी, कार्यसमिति सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश परिषद् सदस्यहरूलाई बधाई तथा शुभकामना ज्ञापन गरेका छन् ।