रविलाई आज पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै

काठमाडौं, २ पुष – सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज (मंगलबार) पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराइने भएको छ ।

लामिछानेलाई हिरासतमा राख्न पछिल्लो पटक लिएको ५ दिनको म्याद सोमबार सकिसँगै मंगलबार फेरि कास्की अदालतमा उपस्थित गराउन लागिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अभियोजन नगर्दासम्म हिरासतमा राख्न म्याद लिनुपर्ने भएकाले अदालतमा उपस्थित गराउन लागिएको छ ।

सहकारी ठगीसम्बन्धी पूरक जाहेरी परेको अवस्थामा ९० दिनभित्र मुद्दा दायर गरिसक्नु पर्नेमा संसदीय समितिको प्रतिवेदन कार्यान्वयन भन्दै हदम्याद नाघेर मुद्दा दायर गर्न खोजिएको लामिछानेका कानुन व्यवसायीले बताएका छन् । लामिछानेविरुद्ध गत वर्ष माघमा कास्की प्रहरीमा पूरक जाहेरी परेको थियो ।

‘अनुसन्धान र अभियोजनमा हकदैया, क्षेत्राधिकार र हदम्याद एकदमै महत्वपूर्ण हुन्छ,’ एक कानुन व्यवसायी भन्छन्, ‘लामिछानेविरुद्धको मुद्दामा तीनै विषयको ख्याल गरिएको छैन । जसका कारण यो मुद्दा कानुनअनुसार दायर नै हुन सक्दैन ।’