images

सत्ता भीडले होइन, कानुनले चल्छ : गृहमन्त्री लेखक

बुटवल, २ पुष – गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा लोकतन्त्रको पहिलो शर्त भएको बताएका छन् । आज (मंगलबार) रुपन्देहीको भैरहवामा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय साइबर अपराध बढेको, भीडले सत्ता चलाउने प्रयास हुन थालेको बताउँदै गृहमन्त्री लेखकले त्यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिए । ‘हाम्रो धार्मिक र सांस्कृतिक मात्र होइन विश्व शान्तिको जोति छर्ने ठाँउ हो’ उनले भने । गोष्ठीहरू औपचारिकतामा सीमित हुने गरेको भन्दै गोष्ठी उपलब्धिमुलक र प्रभावकारी हुनुपर्ने गृहमन्त्री लेखकले बताए । यस्तै वर्तमानमा संविधानलाई असफल हुन दिने छुट नभएको भन्दै संविधानको सुरक्षा, संविधानले प्रदान गरेको नागरिकका हकअधिकार र संविधानको कार्यान्वयन हाम्रो जिम्मेवारी भएको उनले बताए ।

‘हाम्रो संविधानमा नागरिकका ३२ वटा मौलिक हक छन् । त्यसको प्रत्याभूत गराउने काम हाम्रो हो । यसका लागि शान्ति सुरक्षाको कुरा आउँछ’ गृहमन्त्री लेखकले भने । लुम्बिनी प्रदेशमा राजश्व चुहावट भइरहेको सुन्नमा आएको भन्दै गृहमन्त्री लेखकले सीमा नामा हुने तस्करी तुरुन्त रोक्नु निर्देशन दिए ।

‘सीमापार अपराधको नियन्त्रण हुनुपर्‍यो । यो परिणाम देखिने गरी काम हुनुपर्छ’, उनले भने, ‘लागू औषधको नियन्त्रण, आत्महत्या र सडक दुर्घटना न्युनीकरण गर्नु होला ।’ साइवर अपराध र वित्तीय अवरुद्ध बढेको भन्दै नागरिकलाई सुरक्षित छु भन्ने अनुभूति हुनुपर्ने गृहमन्त्री लेखकले बताए । यस्तै फरक प्रसंगमा कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनेको भन्दै यो समीकरण सुशासन, विकास र समृद्धि दिनका लागि बनेको बताए । ‘सरकार बन्ने बित्तिकै सरकार ढल्छ भन्ने र मन्त्री बन्ने बित्तिकै मन्त्री हट्छन भन्ने हल्ला चलाइन्छ । यो समीकरण ८४ सालसम्मै जान्छ, ’ उनले भने ।