काठमाडौं, २ पुष – पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
मंगलबार कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री लामिछानेलाई थुनामा राख्न आठौँपटक म्याद थप गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
कास्की प्रहरीले लामिछानेसहितमाथि अनुसन्धान सकेर सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ । तर, सरकारी वकिललाई केही समय लाग्ने भएपछि म्याद थपका लागि प्रहरीले अदालत लगेको थियो ।
यसअघि, अदालतले मंसिर २७ गते उनलाई हिरासतमा राख्न पाँच दिनको अनुमति दिएको थियो ।
सहकारी संस्थाको रकम अपचलन, किर्ते, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका निम्ति गएको कात्तिक २ गतेयता लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट कात्तिक २ गते पक्राउ गरेर उनलाई पोखरा लगिएको थियो ।