काठमाडौं, १५ भाद्र – काठमाडौंको कमलादीमा हिमालयन हस्पिटालिटी एण्ड होटल निर्माण सम्पन्न भएको छ । व्यापारिक घराना एमएस समूहको लगानीमा निर्माण भएको होटलको भौतिक पूर्वाधार सम्पन्न भएको हो ।
कुल एक अर्ब ८५ करोड रुपैयाँ लागतमा निर्माण भएको होटल अहिले आन्तरिक काम भइरहेको छ । यो व्यापारिक समूहले मोक्सी ब्रान्डको अन्तर्राष्ट्रिय चेन होटल निर्माण सम्पन्न गरेको हो ।
होटलका सञ्चालक शशीकान्त अग्रवालले अबको दुई साताभित्र होटल सञ्चालनमा आउने बताए । ‘होटलको निर्माण सम्पन्न भइसकेको छ, अहिले केही आन्तरिक काम बाँकी छ, अब छिट्टै होटल सञ्चालनमा आउँछ,’ उनले भने ।
उनका अनुसार अबको दुई साताभित्र होटल सञ्चालनमा आउनेछ । उनले विश्व महामारीका रूपमा फैलिएको कोरोनाको कारण लागत अनुमानभन्दा बढेको बताए । जनशक्तिको लागत बढेकोले होटलकाे निर्माण लागत पनि बढेको उनको भनाइ छ ।
यो होटललाई एसियाकै दोस्रो होटलका रूपमा लिइएको छ । यस्तो होटल पहिलो जापानमा बनिसकेको छ भने युरोप र अमेरिका पनि फैलिसकेको छ ।
दुई रोपनी जग्गामा बनेको यो होटलमा डाइनिङ आउटलेट, टेक अवे, रूफटप बार लगायत सुविधा बनाइँदैछ । होटलमा रेष्टुराँ, व्यायाम हल, स्वीमिङ पुललगायतका सेवा सुविधा उपलब्ध हुने बताएको छ । होटलमा कुल ११० वटा कोठा छन् ।
यस परियोजनामा ७३ करोड रुपैयाँ बैंक ऋण र १ अर्ब १२ करोड रुपैयाँ इक्विटी रहेको छ । एम एस ग्रुपको होटलसँगै स्टील, चिनी, रसायन, कागज, कपडा, रियल इस्टेट, बैंकिङ, बीमा तथा आतिथ्यसहितका क्षेत्रमा लगानी गरेको छ ।
इन्टरनेशनल हिमालयन हस्पिटालिटी एण्ड होटलको नेतृत्व अध्यक्ष गौरव अग्रवालले गर्ने बुझिएको छ । उनी तीन दशकदेखि विभिन्न व्यवसायिक क्षेत्रमा सक्रिय छन् । उनी शिखर इन्स्योरेन्स कम्पनीका अध्यक्ष पनि हुन् ।
यस कम्पनीका प्रबन्ध निर्देशक सुमित कुमार अग्रवाल रहेका छन् । उनले एमएमस ग्रुपअन्तर्गतका सम्पूर्ण होटलहरूको नेतृत्व गरिरहेका छन् ।
सम्पूर्ण निर्माण चरण सकिएपछिको सञ्चालन स्थिरता, पर्यटक आगमन दर र अक्युपेन्सी काम राख्न सक्ने क्षमता नै भविष्यको नाफा सुनिश्चित गर्ने आधार हुने कम्पनीको धारणा छ ।
त्यस्तै, काठमाडौं उपत्यकामा रहेका ठूलो संख्याका होटलबीचको प्रतिस्पर्धा, पर्यटन क्षेत्रको मौसमी उतारचढाव, र ब्याजदरको अस्थिरता पनि जोखिमका कारक मानिएका छन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यो कम्पनीलाई डबल बी प्लसको रेटिङ प्रदान गरेको छ ।










