images
images

नबिल इन्भेस्टमेन्ट बैंकिङ १६औँ वर्षमा प्रवेश; वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना

काठमाडौँ — नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले आफ्नो स्थापनाको १५ वर्ष सफलतापूर्वक पूरा गरी आजदेखि १६औँ वर्षमा प्रवेश गरेको छ।

वि.सं. २०६६ माघमा स्थापना भएको यस संस्थाले विगत डेढ दशकदेखि नेपालको पुँजी बजार र लगानी व्यवस्थापनको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउँदै आएको छ।

आफ्नो १६औँ वार्षिकोत्सवको विशेष अवसर पारेर संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत काठमाडौँको नक्सालस्थित नारायणचौरको प्राङ्गणमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ।

“Invest in Life” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गरिएको थियो ।

नबिल इन्भेस्टमेन्टले मर्चेन्ट बैंकिङ अन्तर्गत निष्कासन तथा बिक्री प्रबन्धक, सेयर रजिस्ट्रार, र डिपी सेवा प्रदान गर्दै आएको छ। साथै, इन्भेस्टमेन्ट बैंकिङ तर्फ लगानी व्यवस्थापन (PMS), सामूहिक लगानी कोष (Mutual Fund) र संस्थागत परामर्श सेवामा पनि यसले आफ्नो छुट्टै पहिचान बनाएको छ।

आगामी दिनमा विशिष्टीकृत लगानी कोष अन्तर्गत ‘प्राइभेट इक्विटी फन्ड’ सञ्चालन गर्ने तयारीमा रहेको समेत संस्थाले जनाएको छ।

वार्षिकोत्सवको अवसरमा संस्थाले आफ्ना समस्त ग्राहक, नियामक निकाय, सञ्चारकर्मी र शुभेच्छुकहरूप्रति आभार प्रकट गरेको छ।

आगामी दिनमा पनि नवीनतम् प्रविधि र सुदृढ जोखिम व्यवस्थापनका माध्यमबाट नेपाली पुँजी बजारको विकासमा थप योगदान पुर्‍याउने प्रतिबद्धता नबिल इन्भेस्टमेन्टले व्यक्त गरेको छ।