काठमाडौं – बालाजु बाइसधारा मेलाको अवसरमा बेष्ट बालाजु युथ क्लबद्वारा आयोजित भव्य सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा हास्य कला क्षेत्रका नक्षत्र मदन कृष्ण श्रेष्ठ को विशेष उपस्थिति रहेको थियो। त्यसैगरी, विशिष्ट अतिथिहरूमा काठमाडौँ महानगरपालिका वडा नं. १६ की अध्यक्ष रोजिना श्रेष्ठ, युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व मदनकुमार श्रेष्ठ लगायत अन्य सामाजिक तथा बौद्धिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा राष्ट्रिय कलाकारहरूको आकर्षक प्रस्तुति, सांगीतिक कार्यक्रम, नृत्य तथा विविध सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएका थिए। स्थानीय बासिन्दा, युवायुवती तथा दर्शकहरूको उत्साहजनक उपस्थिति कार्यक्रमको मुख्य आकर्षण बनेको थियो। उक्त कार्यक्रमको आयोजना मार्फत नेपाली मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुगेको आयोजकले जनाएको छ। साथै, यस्ता कार्यक्रमहरूले युवाहरूलाई सकारात्मक र सिर्जनशील गतिविधिमा संलग्न गराउँदै सामाजिक एकता मजबुत बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।
बेष्ट बालाजु युथ क्लब विगतदेखि नै सामाजिक सेवा, युवा सशक्तीकरण, सरसफाइ अभियान, जनचेतनामूलक कार्यक्रम तथा विपद् व्यवस्थापन जस्ता क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको छ। क्लबले यसअघि भूकम्प राहत, स्थानीय सुरक्षा सहयोग तथा विभिन्न सामाजिक सेवामूलक कार्यहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेको छ। उक्त कार्यक्रम प्रमुख संरक्षक श्री राजीव श्रेष्ठज्यूको अभिभावकत्वमा समन्वय गरिएको थियो। उहाँको मार्गदर्शनमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। साथै, उहाँबाट आगामी दिनहरूमा पनि यस्तै महत्वपूर्ण सहभागिता, सहयोग तथा माया निरन्तर रूपमा प्राप्त हुने क्लबले आशा व्यक्त गरेको छ।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण संघ–संस्था, सहयोगी तथा व्यक्तिहरूप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।








