images
images

बाबुराम भट्टराई भोलि भारत जाने

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाने भएका छन् । उनको सचिवालयले जारी गरेको प्रेस नोटअनुसार भट्टराई भोलि (२९ चैतमा) भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा उनी भारतको ग्वालियरस्थित आईटीएम युनिभर्सिटीको औपचारिक निमन्त्रणामा १ वैशाखमा आयोजना हुने ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् । उक्त कार्यक्रम राममनोहर लोहियाको स्मृतिमा आयोजना हुँदै आएको हो भने भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसरसँग पनि जोडिएको छ ।

भट्टराईसँगै उनकी पत्नी तथा पूर्वमन्त्री हिसिला यामी पनि भारत जाने कार्यक्रम रहेको छ । आईटीएम युनिभर्सिटीले विगत ११ वर्षदेखि सञ्चालन गर्दै आएको यस व्याख्यान शृङ्खलामा भारतका उच्च पदस्थ व्यक्तित्व तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विद्वानहरूको सहभागिता रहँदै आएको छ ।

भ्रमण अवधिमा भट्टराईले विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक तथा अनुसन्धानकर्तासँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत तय भएको छ ।

यसैगरी, २ वैशाखमा उनी नयाँ दिल्लीस्थित साउथ एसियन युनिभर्सिटीको सामाजिक विज्ञान संकायद्वारा आयोजित ‘Interdisciplinary Conversation’ कार्यक्रममा पनि प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् । ‘Pathways to Prosperity through New Politics in Nepal’ शीर्षकमा हुने उक्त कार्यक्रममा उनले नेपालको बदलिँदो राजनीति र दक्षिण एसियाली समृद्धिको सम्भावनाबारे आफ्ना विचार राख्नेछन् ।

भट्टराई दम्पती २ वैशाखको साँझ नेपाल फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।