images
images

कालीगण्डकी नदीको मोटरेबल पुलको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत

म्याग्दी :पाँचौँपटक ठेक्का सम्झौताको म्याद थप भएको मुस्ताङको थासाङ गाउँपालिकाको छयो–कुञ्जो जोड्ने कालीगण्डकी नदीको मोटरेबल पुलको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत छ। 

१०० मिटर लामो केवल स्टेट प्रविधिको मोटरेबल पुल निर्माणका लागि २०७३ भदौ २२ गते तत्कालीन जिल्ला विकास समिति मुस्ताङ र स्वच्छन्द निर्माण सेवाबीच सम्झौता भएको थियो। योजनाको निर्माण अवधिसँगै लागत पनि बढेर पछिल्लो पटक भेरियस अर्डर गरी १४ करोड १९ लाख ६५ हजार रुपैयाँ पुगेको छ।

कुञ्जोतर्फको पिल्लर कालीगण्डकीको बाढीले कटान गरेर जोखिम बनाएको छ। डिजाइनको समस्याले दुई वर्ष रोकिएको यो पुल निर्माणको काम संघीयता कार्यान्वयनपछि प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो। कुञ्जोको ताकलुङका बासिन्दा धीरेन्द्र विकले कालीगण्डकीमा मोटरेबल पुल नहुँदा लेते–कुञ्जो सडकमा बर्खामा सवारी साधन आवत जावत अवरुद्ध हुने र मोटरसाइकल झोलुङ्गे पुलबाट तार्ने गरिएको बताए।

‘पाँच वर्षअघिनै निर्माण सकिनुपर्ने पुल अझै अधुरो छ’, उनले भने, ‘स्थानीयवासीलाई आवतजावतमा असुविधाका साथै आलुलगायत गाउँमा उत्पादन भएको कृषि उपज निकासीमा समस्या भएको छ।’

पूर्वाधार विकास कार्यालय मुस्ताङका अनुसार छयो–कुञ्जोसहित जिल्लामा सञ्चालित ७५ करोड ५१ रुपैयाँ लागतका तीन मोटरेबल पुल र दुई सडक आयोजना ढिलासुस्तीले प्रभावित भएका छन्।

घरफझोङ गाउँपालिकास्थित कालीगण्डकी नदीमा ३५ मिटर लामो मार्फा–छैरो पुल बनाउन २०७६ फागुन २९ गते देव एण्ड सायर कन्ट्रक्सनसँग सात करोड ८० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। दोस्रो पटक थपिएको म्याग्द २०८० असारमा सकिएको यो पुलको भौतिक प्रगति ३५ प्रतिशत छ।

देव एण्ड सायर कन्ट्रक्सनले २०७६ फागुन २९ गते नै पाँच करोड पाँच लाखमा ठेक्का सम्झौता गरेको थासाङ गाउँपालिकाको लेते–घुम्पु कालीगण्डकी पुलको हालसम्मको भौतिक प्रगति ३५ प्रतिशत छ। २०८० चैतसम्म म्याद थपिएको यो आयोजनाको एकातर्फको पिल्लर मात्र तयार भएको छ।

मुुस्ताङको जिल्ला सदरमुकाम अवस्थित जोमसोम बजार रहेको घरपझोङ गाउँपालिकालाई जोड्ने चक्रपथ बनाउने लक्ष्य अनुसार प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक सडक’ आयोजना कार्यक्रमअन्तर्गत जोमसोम–ठिनी–ढुम्बा–छैरो–चिमाङ–मार्फा–स्याङ–जोमसोम सडक निर्माण गर्न २०७६ असार २७ गते बन्दना भगवती जलजला जेभीसँग २४ करोड ४५ लाख ७४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

२०८० असोज मसान्तसम्म म्याद भएको यो आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको छ। १० किलोमिटर ५०० मिटर सडकमध्ये ५.५ किलोमिटरमा प्रिमिक्स कालोपत्र गर्ने योजना रहेको छ।

२०७६ असारमै ठेक्का सम्झौता भएको लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ–थिङगर–किमलिङ–च्युुमजुङु सडकको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी छ। रु २४ करोड ४५ हजारमा ठेक्का सम्झौता भएको १० किलोमिटर दूरीको यो सडक ग्राभेल गर्ने काम इमोटल कन्ट्रक्सनले लिएको थियो। दुई पटकसम्म म्याद थप भएको यो आयोजना निर्माण सम्पन्न हुने क्रममा रहेको पूर्वाधार विकास कार्यालय मुस्ताङका सब इञ्जिनियर घनश्याम रोकाले बताए।
निर्माण व्यवसायीले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न, निर्माण सामग्रीको व्यवस्थापन गर्न नसकेका कारण सडक र पुल निर्माणमा ढिलासुस्ती भएको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले बताए।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले ढिलासुस्तीले थलिएका पुल र सडकको मंगलबार र बुधबार अनुगमन गरेका छन्।

मन्त्री जुग्जालीले निर्माण व्यवसायीलाई काममा फर्काउन पहल गर्न र रोकिएको काम अघि नबढाए धरौटी जफत, कालोसूचीमा राख्ने र कारबाही गर्ने प्रक्रिया अघि बढाउन पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठलाई निर्देशन दिए।

‘स्थानीयस्तरमा देखिएका समस्या समाधानका लागि प्रशासन र जनप्रतिनिधिसँग समन्वय गरेर सहजीकरण गर्नुस्’, मन्त्री जुग्जालीले, ‘सहजीकरण गर्दा पनि निर्माण कार्यलाई तीव्रता नदिने निर्माण कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढाउनुस्।’

यस क्रममा उनले प्रदेशका आयोजनाका लागि बजेटको अभाव नुहुने र हुन नदिने आश्वासन दिए।रासस