images
images

‘रास्वपाको मिसन ०८४ ले हावा खाइसक्यो’ [अन्तर्वार्ता]

युवाहरुको आशा र सपना पूरा गर्छु भनेर गत निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला अलमलमा छ। नयाँ जोश, जाँगरका साथ निर्वाचनमा होमिएको रास्वपालाई आम नेपालीहरुले छोटो समयमा नै विश्वास गरेर प्रतिनिधि सभाको २१ सिटमा जिताए पनि। ‘नो नट अगेन’को नारा बोकेर निर्वाचनमा राम्रो सिट प्राप्त गरेको रास्वपा यतिबेला त्यही नाराको भारीबाट थिचिएको छ। किनभने पार्टीकै नेताहरु पुराना राजनीतिक दलहरुलाई समर्थन गरेर सरकारमा जानु उचित नरहेको बताइरहेका छन्।

पार्टीका केन्द्रीय सदस्य गणेश कार्की सरकारबाट रास्वपा जतिसक्दो बाहिरियो त्यति नै पार्टीलाई राम्रो हुने तर्क गर्छन्। उनले पुराना पार्टीलाई अँगालो हाल्न थालेपछि रास्वपाको मिसन ०८४ ले हावा खाइसकेको बताए।

उनले पार्टीमा यस्तै अवस्था रहने हो भने पार्टीको औचित्य सकिने बताए। न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले पार्टी सभापति रवि लामिछानेको वरपर भ्रम छर्नेहरु रहेको र जसले पार्टी र सभापतिलाई सिध्यारहेको टिप्पणी गरे।

यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीसँग न्यूज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंशः

पार्टी कसरी चलिरहेको छ, प्रश्नहरु निरन्तर उठिरहेको छ नि?

हामीले प्रश्नहरुको जवाफ दिइरहेका छौँ। कति प्रश्नको जवाफ प्रष्ट दिएका छौँ, कतिको अलिकति घुमाउन खोजिरहेका छौँ र कतिपय प्रश्नहरुको जवाफ नदिएर तर्किरहेका छौँ।

यो भनेको के हो?

हामी आफ्नो अनुकुलतामा जवाफ दिइरहेका छौँ। मिल्दो प्रसंग आयो भने चर्को स्वरमा जवाफ दिइरहेका छौँ। अलिकति ग्रे जोन (अस्पष्ट अवस्था) मा भएका विषयमा घुमाएर, आज आफू जोगिएर जवाफ दिइरहेका छौँ। पुरानाहरू पार्टीको छल्दै बच्दै हिँडिरहेका छौँ। कतिपय मुद्दा र विषयका बारेमा अहिले नगरौँ भनेर तर्क गरेर हिँडेका छौँ।

यसरी हेर्दा पार्टी ठीकठाक चलेको जस्तो देखिएन?

पार्टी छोटो समयमा ठूलो भयो। फिक्सन फिल्मको पात्रजस्तो सानोबाट एकै छिनमा ठूलो भएको। अस्वभाविक गति र रूपको बनेको जस्तो देखियो। जम्प गरेर हिँडेजस्तो हुँदा कहिले कता कहिले कता ठोक्किरहेको छ। ठोक्किएको विषयमा पार्टीभित्र समिक्षा नै हुन सकेन। यहाँ हामी चुकिरहेका छौँ।

पार्टी आउँदा राजनीतिक विकल्प दिने गरी आएको, नयाँ सोचको साथ आएको भनिएको थियो, यस्तो अवस्थामा पुग्नु भनेको के? कसरी व्याख्या गर्ने ?

पार्टीभित्र गम्भीरता देखिएन। फट्याङ्ग्रा उफ्रिए जस्तो पार्टी बन्यो। संसद्‌मा गइयो, संसदबाट सरकारमा, सरकारबाट फिर्ता अनि फेरि सरकारमा, त्यसपछि उपनिर्वाचनमा भाग लियौँ, हाम्रो उम्मेदवारको जमानत जफत भयो। सबै तीव्र गतिमा भइरहेको छ। यो गति अस्वभाविक भयो। कतै हाम्रै शक्ति हामीमाथि त आइलाग्ने होइन भन्ने डर भयो। हाम्रो उफ्राइ हेर्दा जता पनि लड्नसक्ने देखियो। रास्वपाको चरित्र नबन्दै अंक गणितको खेलमा आइसकेका छौँ। अहिले रोकिनु पर्ने, समिक्षा गर्नुपर्ने अवस्थामा छौँ तर त्यो हुन नसक्दा निराशा छ।

यो भनेको हामी सैद्धान्तिक रुपमा प्रष्ट छैनौँ, साथै संगठनात्मक विधि पद्धतिको अभावले यो अवस्थामा पुग्यौँ होइन?

हामीसँग नीति नभएको होइन। बाहिर नीति छैन, प्रष्ट छैन, भनिरहेकोले साँच्चै छैन कि क्या हो भन्ने भ्रमजस्तो देखिएको हो। पुरानो विचार सिद्धान्त मान्दिन भन्नु पनि सिद्धान्त हो नि, नीति हो नि। तर, समयक्रमसँगै हामी पुराना दलजस्तै संगठन बढाउने पार्टीमा पदाधिकारी राख्ने भागबण्डामा हिस्सा खोज्न थाल्यौँ। हामीले स्थायी रुपमा कुनैपनि वाद, सिद्धान्तलाई नअँगाली विषय र समयअनुसार नीति बनाउने भन्ने निर्णय लिएका थियौँ। कुनै पनि वाद र नीतिलाई समयअनुसार लिन र त्याग्न स्वतन्त्र हुने भन्ने दस्तावेजमा लेखेका छौँ। तर हामी अल्मलियौँ।

तपाईंको भनाइको अर्थ रास्वपा, रास्वपाजस्तै रहेन, रंग उड्यो भन्ने हो?

रंग उडेको होइन, बदलिएको हो कि जस्तो देखियो।

त्यसो भए पार्टीमा छलफल किन नभएको, कि हुन नसकेको?

पार्टीमा छलफल नहुने होइन, हुन्छ। हामी धेरै आ–आफ्नो क्षेत्रमा काम गरेर प्रश्न सोधिरहेका व्यक्तिहरु अहिले पार्टीमा छौँ। छलफल भए पनि विश्वासको वातावरण बन्न सकिरहेको छैन। को व्यक्ति कस्तो छ भनेर राम्रोसँग चिनेकै छैनौँ। पार्टीको फड्को मार्ने गतिले छलफल हुन सकिरहेको छैन। अहिले पार्टि सरकारमा गएर आन्तरिक व्यवस्थापनमा लाग्न नै सकेन। अनि प्रश्नहरु धेरै आए।

तपाईंको विचारमा पार्टी सरकारमा जानु हुँदैन थियो?

हो, जानु हुँदैनथ्यो। हामीले सरकारमा जान्न भनेर नै भोट मागेको हो। नो नट एगेन अभियान हामीले चलाएको हो। हामीले पुरानो प्रवृत्तिविरुद्ध लड्ने भनेका थियौँ। तर अहिले प्रवृत्ति पनि स्वीकारेको पुराना व्यक्ति पनि स्वीकारेको अवस्थामा पुगेका छौँ। हुँदाहुँदा सबै यस्तै त हो नि भन्नेमा पुग्यौँ। राजनीति भनेको यस्तै रहेछ भन्न थालिसक्यौँ। अब तिनै पुराना नेता अनि प्रवृत्ति बोकेर हिँडेको हो कि भन्ने शंका उब्जेको छ।

इलामको उपनिर्वाचनले त झन् शंकालाई बलियो स्थान दिएको छ। यो हाम्रो गलत बाटो हो कि भन्ने छ। हामीले माग र मुद्दामा अरु पार्टीका नेता कार्यकर्तालाई समाहित गराउन सकिन्छ भन्ने विश्वास दिलाउन सकेनौँ। पार्टी परिवर्तन हैन भोट परिवर्तन गुर्नुहोला भन्ने मुद्दा जोडका साथ उठाउन सकेनौँ। हामीले ठूलो संगठन बनाउने भन्दै आत्मविश्वास गुमाएका छौँ। यस्तै कमजोरीले हाम्रो फरक चरित्र बन्न सकेन।

सरकारमा जाँदा पार्टी कमजोर हुन्छ भनेर तपाईंहरुले किन भन्न नसकेको, किन छलफल गर्न नसकेको?

हाम्रो पार्टीभित्र सरकारमा जान हुने र जान नहुने तर्क बोकेका व्यक्तिहरु छौँ तर विचार समूह बनेको छैन। हामीले आ–आफ्नो विचार राखेका छौँ। मत विभाजन गरेको अवस्था छैन।

त्यसो भए पार्टी सरकारमा किन गएको होला तपाईंको विचारमा?

यसमा विभिन्न कारणहरु छन्। पार्टी सरकारमा जानुको कारण म एक एउटा कार्यकर्ता र केन्द्रीय सदस्यको हैसियतले भन्नुपर्दा पार्टी सरकारमा काम गर्नको लागि नै गएको हो। साथीहरुमा काम गर्ने हुटहुटी पनि थियो। तर पार्टी सरकारमा जानु हुँदैनथ्यो काम गर्ने देखाउने, हुटहुटी देखाउने समय यो थिएन।

असल नियत र काम गर्ने हुटहुटी भएकाले मलाई फलानो मन्त्रालय नभइ हुँदैन कसरी भन्न सकेको ?

हो यसमा शंका गर्ने ठाँउ छ। जसरी घटनाक्रम अगाडि बढेको छ, जसरी समाचारहरु आइरहेको छ, यसमा शंका गर्ने ठाँउ छ।

सरकारमा गएको विषयबारे जवाफ दिन सजिलो छैन हो?

हामी काम गर्न नै गएको हो। काम नभएको पनि देखिँदैन, निरन्तर भइरहेको छ, व्यस्तता बढेको छ म स्वयं शिक्षामन्त्रीलाई सघाउने जिम्वेवारीमा छु। धेरै भएजस्तो देखिन्छ। तर कामको प्रतिफल लक्षित वर्गमा पुग्यो कि पुगेन भनेर हेर्दा प्रश्न गर्ने ठाउ धैरै छ। कामको चाङ्गमा अलमलिएर ब्यस्त भएका छौँ, यसले जनतासँग दूरी बढेको छ। परिणाम नै देखिएन।

हुन त अहिलेका पार्टी सभापति केन्द्रमा रहेर नै यसको जन्म भएको हो, अहिले समस्याको जड नै त्यही केन्द्र हो कि भन्ने पनि देखियो नि?

रास्वपालाई एउटा माला बनाउने कडी नै रवि लामिछाने हुन्। अरु कोही होइन। राष्ट्रिय स्वतन्त्र पार्टीको मालाको धागो रवि लामिछाने नै हुन्। तर माला भनेको धागो मात्र हो, त्यसमा उनिएको फूल केही होइन भन्न थालिएको छ।

रविजीको वरपर घुम्नेले धागो भनेकै माला, माला भनेको धागो भनेर सुनाउँछन्। पार्टी सभापतिलाइ नै भ्रममा पारिएको छ। अहिले हाम्रो पार्टी सभापति सरकारमा गएकै कारणले समस्या परिरहेको छ।

पार्टी भनेकै रवि लामिछाने भन्ने भ्रम फैलाइएको छ। धागोले म मात्रै हो माला भनेर देखिएको अवस्था छ। पार्टीमा बढी क्षति रवि लामिछानेजी सरकारमा गएको कारणले भएको छ।

तपाईहरुलाई सरकारसँगै सभापतिको बारेमा व्यक्तिगत रूपमा उठेका प्रश्नहरूले पनि समस्यामा पारेको छ होइन?

मेरो विचारमा विपक्षीले संसद रोकेर संसदीय छानविन गर्नुपर्छ भन्यो भने बनाउनु पर्छ भन्ने हो। तर यहाँ समस्या देखियो, यो दुःखद् छ। मुद्दाहरू सवालहरू राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको विरुद्ध होइन। यो रास्वपा गठन हुनुपूर्व रवि लामिछानेको विरुद्धको मुद्दा हो। सभापति रवि लामिछाने र एउटा मिडिया चलाउने रवि लामिछाने अलगअलग हुन्।

रवि लामिछानेविरुद्धको मुद्दाको भारी पार्टीले बोक्छ त?

विल्कुलै बोक्दैन। बोक्नु पनि हुँदैन। यहाँ हाम्रो गल्ती भएको छ। हामीले दुई वटा रवि लामिछाने छुट्टयाउन अफ्ट्यारो मानिरहेका छौँ। व्यक्तिगत रूपमा रवि लामिछानेसँग जोडिएका मुद्दामा पार्टी जोडिन हुँदैनथ्यो। जे–जे व्यहोर्नुपर्ने व्यक्तिगत रूपमा रविजीले व्यहोर्नु हुन्थ्यो।

रविजीले पार्टी बैठकमा के भन्नुहुन्छ?

होइन नै भन्नुहुन्छ। यसमा अर्को कुरा पनि छ। हामीसँग भएका कानुन कडा र जटिल छन्। व्यवहारमा ढाल्न वा कार्यान्वयन गर्न नसक्ने खालका छन्। यसमा सुधारको आवश्यकता छ। तर कानुनी र व्यवहारिक पाटो फरक हो।

कहिलेकाहीँ यसमा व्यक्ति फस्न सक्छ। यसरी फसेको व्यक्ति आफू जोगिन जे पनि गर्छु भन्नु गलत हुन्छ। समस्याको गाँठो झन् कसिलो हुन्छ। बरु आफ्ना कुरा प्रष्ट रुपमा भनेको भए द्विविधा हुँदैनथ्यो। हामीले पार्टी सभापतिलाई जोगाउनु छ नैतिक रुपमा बलियो बनाउनु छ। साथै रवि लामिछाने र पार्टी सभापति एकै होइन भन्नुछ। एकैठाउमा मिसाएर सिंगो पार्टी, पार्टीको अभियान, देशभरको उत्साह तोड्न पाइँदैन।

रविजीमाथि उठेको प्रश्नको जवाफ दिनुपर्छ, उहाँले दिइरहनुभएको छ। तर प्रश्नहरू निरन्तर उठिरहेको छ। जवाफ दिइरहनु पनि भएको छ। यसलाई हेर्दा कतै जवाफ दिने तरिका बदल्ने हो कि। यहाँ त प्रश्नको चक्रजस्तो देखिएको छ एकपछि अर्को गरेर।

रवि लामिछानेमाथि संसदीय छानविन समिति बनाउँदा फरक पर्दैन भन्ने तपाईंको भनाइ हो?

रविजीमाथि उठेको प्रश्नको जवाफ दिनुपर्छ, उहाँले दिइरहनुभएको छ। तर प्रश्नहरू निरन्तर उठिरहेको छ। जवाफ दिइरहनु पनि भएको छ। यसलाई हेर्दा कतै जवाफ दिने तरिका बदल्ने हो कि। यहाँ त प्रश्नको चक्रजस्तो देखिएको छ एकपछि अर्को गरेर।

हो, छानविन समिति बनाउन सकिन्छ। म मेरो सभापति सबै आरोपबाट मुक्त हुनुहुन्छ भन्ने अपेच्छा राख्दछु। हामीले छानविन समिति माग गर्ने सबैलाई विरोधीको नजरले हेर्न हुँदैन। छानविन समितिलाई नै पार लगाउनेभन्दा पनि प्रश्नहरुको जवाफ दिएर निमिट्यान्न पार्नेतर्फ सोच्नुपर्छ।

संसदको गतिरोध अन्त्य गर्न तपाईंहरूको पनि भूमिका हुन्छ कि हुँदैन?

संसद एक दिन पनि बन्द हुनु हुँदैन। संसद खुला राख्नुपर्छ भनेर हामीले अभियान नै चलाएका हौँ। समिति बन्न वा बनाउन नसकेर संसद अवरोध हुने कुरामा मलाई दुःख लाग्छ।

२८ गतेबाट सुरु हुने भनिएको संसद अधिवेशन नै रोकिन सक्ने देखियो, बस्न नै नसक्ने अवस्था देखियो नि?

हो, हाम्रो कारणले संसद अवरुद्ध हुने विषयमा दुःख व्यक्त गर्दछौँ। संसदीय छानविन समिति बनाउने र बनाउन नदिनेबारे स्पष्ट धारणा हुनुपर्छ। संसदीय समिति व्यक्ति विशेषको लागि भन्दा पनि समग्र समस्याको निकास खोजिने गरी समिति बनाउन हामी तयार छौँ।

पार्टीको मिसन ०८४ बाटोमा नै अलमलियो होइन?

हामी सरकारमा मिसन ०८४ कै आधारमा जान खोजेको हो, गएको पनि हो। तर अर्कैको मिसन ८४ को लागि पुग्यौँ। हामीले नो नट एगेन भनेको ओलीलाई अँगालो मारेर प्रचण्डलाई बोक्न गएपछि मिसन ०८४ ले हावा खायो। हामीलाई यसले मिसन ०८४ मा ठूलो क्षति गर्छ। यो निर्णयले कसैलाई पनि खुशी दिएको छैन। सरकारमा गएका साथीहरूले काम गरेर देखाउने अवसर छ। यो अवसर पनि गुमायौँ भने ठूलो युवा पंक्तिमा निराशा छाउने देखिन्छ।

अब पनि सरकारमा बस्ने सम्भावना कत्तिको छ?

यो सरकारको भर छैन। अहिले हामी बोलिरहेको छौँ, यही बेला बाहिर सरकार ढलिसकेको पनि हुनसक्छ। यो पूर्ण कार्यकाल टिक्न पनि सक्छ। सरकारमा रहेकाको सिद्धान्त र चरित्र नै स्पष्ट छैन। सरकार रणनीतिको रुपमा सञ्चालन भइरहेको छ तर के गरिरहेको के भइरहेको स्पष्ट छैन काम पनि पारदर्शी छैन।

इलाममा किन हारियो?

हामी सरकारमा गएर नै गलत भएको हो। सरकारमा गएर निकम्माहरुसँग संगत गर्न थालेपछि हारियो। जनताले पुराना र नयाँको फरक नै छुट्याउन सकेनन्। इलाम निर्वाचनमा जानुअगाडि पार्टीले आफ्नो चरित्र नै बिगारिसकेको थियो सरकारमा गएर। उम्मेद्वार त गौण कुरा भयो। हाम्रो हार हाम्रो पराजय सरकारमा गएकै कारणले हो।

तपाईंको निष्कर्ष सरकारमा जति बसिन्छ त्यति पार्टी कमजोर हुँदै जान्छ भन्ने हो?

यसबारे मेरो प्रष्ट धारणा छ। सरकारमा जानु हुँदैनथ्यो।  पार्टीका राम्रा साथी सरकारमा जानुभयो। साथीहरु नर्क जाने बाटो पिच (कालोपत्र) गर्दै हुनुहुन्छ। बाटो जति राम्रो बनाए पनि पुगिने गलतमा नै हो। यसले स्थापित गर्ने सत्य नयाँले पनि पुरानालाई नै बोक्ने भन्ने हो। यो सत्य जति समय आफूसँग रहन्छ निरन्तर क्षति हुन्छ। सरकारबाट निस्किए राम्रो।

पछिल्लो राजनीतिलाई (जसपा फुटको) कसरी हेर्नुभएको छ तपाईंको पार्टी त्यहाँ त पुग्दैन नि?

रास्वपा फुट्दैन। किन फुट्दैन भने रास्वपाभित्र समूह (विचार समूह) बनेको छैन। हाम्रो पार्टीभित्र एक अर्कामा राम्रोसँग परिचय नै भएको छैन। पार्टीमा पूर्णकालीन सदस्य नै छैनन्। पार्टीभित्र, राजनीतिमा रहिनँ भने के हुन्छ भन्ने खालका साथीहरु हुनुहुन्न। बरु पार्टीको चरित्र सकिएर अनुपयुक्त हुने अवस्था आउन सक्छ।