images
images

राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन, २१ दिनभित्र मस्यौदा तयार हुने

काठमाडौँ -सरकारले मुलुकको ऊर्जा क्षेत्रको भावी दिशा र प्राथमिकता निर्धारण गर्ने उद्देश्यसहित राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया अघि बढाएको छ। यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले उच्चस्तरीय समिति गठन गर्नुभएको छ।

मन्त्री श्रेष्ठले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा ऊर्जा क्षेत्रको संस्थाहरुका प्रतिनिधि र विज्ञ समेत रहेको समिति गठन गर्नु भएको हो।

समितिलाई २१ दिनभित्र राष्ट्रिय ऊर्जा नीतिको अवधारणासहित मस्यौदा तयार गरी सरकारसमक्ष पेस गर्ने कार्यादेश दिइएको छ। समितिले मुलुकको ऊर्जा क्षेत्रको वर्तमान अवस्था, भावी आवश्यकता र सम्भावनालाई आधार बनाएर आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीतिगत दिशा तय गर्ने अपेक्षा गरिएको छ।

नयाँ ऊर्जा नीतिमार्फत ऊर्जा उत्पादन, प्रसारण, वितरण, खपत तथा व्यापारलाई एकीकृत दृष्टिकोणबाट अघि बढाउने र दीर्घकालीन ऊर्जा विकासका लागि स्पष्ट नीतिगत आधार तयार गर्ने सरकारको तयारी छ।