images
images

सीमा समस्या समाधानका लागि नयाँ विकल्प: ऊर्जा व्यापार र आर्थिक समुन्नतिमा कोसेढुङ्गा

नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि नयाँ विकल्प सुझाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीचको सीमा समस्या सम्पूर्ण रूपमा समाधान गरिने बताएको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले नयाँ विकल्प सुझाएका छन् ।

शुक्रबार नयाँ दिल्लीमा सञ्चारकर्मीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि विभिन्न विकल्पबारे सोच्ने काम भइरहेको बताए । लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायतका सीमावर्ती क्षेत्रलाई लिएर नेपाल–भारतका बीचमा सीमा समस्या रहेको छ । नेपालले ती समस्याको दीर्घकालीन समाधान गर्दै बंगलादेशसँग सिधा सडक मार्ग व्यवस्थापन गर्न सकिने प्रचण्डको भनाइ छ । ‘बंगलादेशसँग सिधा जाने बाटो हामीलाई चाहिएको छ भन्ने नेपालमा उहिले देखिको उठिरहेको आवाज पनि हो, हामीलाई चाहिएको कुरा पनि हो । आवश्यकता पनि हो, चाहना पनि हो,’ प्रधानमन्त्री प्रचण्डले भने । आजको राजधानी दैनिकमा समाचार छ ।

ऊर्जा व्यापार र आर्थिक समुन्नतिमा कोसेढुङ्गा

पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणले उच्चस्तरीय राजनीतिक नेतृत्वमा आपसी विश्वास निर्माण, ऊर्जा व्यापार र आर्थिक समुन्नतिका दृष्टिले अभूतपूर्व भएको प्रतिक्रिया दिएका छन् ।

पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनी र पूर्वमन्त्री एवं भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा त्रिदेशीय ऊर्जा व्यापारसम्बन्धी सम्झौता कोसेढुङ्गा साबित हुने बताए । पूर्वराजदूतद्वय प्राडा लोकराज बराल र प्राध्यापक विजयकान्त कर्णले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण राजनीतिक रूपमा विश्वास कायम गरी व्यापारिक सम्बन्धको आधारशिला तयार गर्ने गरी सम्पन्न भएको बताए ।

उनीहरूले विद्युत् व्यापारलाई भारत र बङ्गलादेशसम्म लाने गरी भएको सम्झौताले नेपालको समुन्नतिमा नवीन युग प्रारम्भ गर्न सक्ने बताए । तर, यसका लागि नेपालले पनि लगानीको विषयमा बृहत् तयारी गर्नुपर्ने उनीहरूको भनाइ छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।