images
images

गोरखा चेम्बर द्वारा दशै सस्तो बजार मेला आयोजना गर्ने निर्णय: करिब ७ करोडको कारोबार हुने अनुमान

गोरखामा दशैं सस्तो बजार मेला हुने भएको छ । गोरखा चेम्बर अफ कमर्स गोरखाले आइतबार पत्रकार सम्मेलन गरी आउँदो असोज २३ गते देखि कार्तिक ३ गतेसम्मदशै सस्तो बजार मेला आयोजना गर्न लागेको जानकारी गराएको हो ।

गोरखा चेम्बर अफ कमर्सबाट विगत बर्षहरुमा उपभोक्ताहरुको हितको लागि दुईपटक दशैं सस्तो बजार तथा रमाईलो मेला संचालन सञ्चालन गरिसकेको थियो । आगामी असोजमा पनि मेला आयोजना गर्ने चेम्बर अफ कर्मस गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठले बताए । मेला आयोजनास्थलको बिषयमा टुंगो नलागिसकेकाले मेलास्थल पछि तोकिने अध्यक्ष श्रेष्ठले बताए ।

मेलामा स्थानिय उत्पादनका परिकार बिक्री कक्ष, खसी वोका, च्याङ्ग्रा, लोकल कुखुरा, तथा नेपाल खाद्य कम्पनी लिमिटेड र साल्ट ट्रेडिङबाट दैनिक उपभोग्य सामग्रीको स्टलमा राखिने उनले बताए । चाडपर्वमा नयाँ लुगा खरिद गर्ने उपभोक्ताहरुलाई जुत्ता चप्पल, फेन्सी कपडा, घरेलु भाँडाकुडा लगायत सामग्री समेत राखिने चेम्बर अफ कर्मसले जनाएको छ ।
करिब ६० हजार दर्शकले अवलोकन गर्ने मेलामा करिब ७ करोडको कारोबार हुने जनाएको छ । जिल्लाका कृषक, साना व्यवसायी, दैनिक गुजारा गर्ने श्रमिकहरुले पनि मेलाबाट लाभ लिन सकिने उनले बताए ।

मेलामा अवधिमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट विविध मनोरञ्जनका कार्यक्रम रहने जनाएको छ । दशैं सस्तो बजार मेला विगतको भन्दा अझै परिस्कृत र व्यवस्थित र उपभोक्ता लाभान्वित हुने गरी तेस्रो संस्करणको तयारी थालिसकेको उनले जानकारी दिए ।

मेलामा जिल्ला स्थित सबै पालिकाहरुको सहभागिताको लागि र सहकार्यको लागि अनुरोध गरिने बताउँदै पालिकाहरुको स्थानीय उत्पादन विक्री र बजार व्यवस्थापनको लागि गोरखा चेम्बरले ब्राण्ड दिने अन्तर्राष्ट्रिय बजारमा समेत पहल गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

सो मेलामा प्रवेश शुल्कमा रुपमा विद्यार्थीका लागि रु ५० र अरु दर्शकका लागि रु १०० तोकिएको छ ।