पलेशा गोवर्धन भन्छिन् – आफूमाथिको विश्वासले पदक जितेँ र यो सुरुवात मात्र हो

काठमाडौँ – नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवर्धन श्रेष्ठले आफूमा विश्वास गर्नु नै आफ्नो जितको सबैभन्दा ठूलो रहस्य भएको बताएकी छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बुधवार आयोजित आफ्नो स्वागत र बधाई कार्यक्रममा पलेशाले पेरिस पारा ओलम्पिकमा कांस्य पदक जित्नुको आधार नै आफूमाथि विश्वास गर्नु रहेको बताएकी हुन्। अब गर्वपूर्वक हामीले नेपालसँग पनि ओलम्पिकको पदक छ भन्नसक्ने अवस्था रहेको बताइन्। आफूबाट देशले पदकको आशा गरेको उल्लेख गर्दै उनले कठिन क्षणमा आफूमाथि विश्वास गर्दा पदक सम्भव भएको बताएकी हुन्।

स्वागत देखेर खुसी भएकी पलेशाले भनिन्, ‘म निकै खुसी छु । मैले पदकको लागि यति धेरै ‘हाइप’ हुन्छ भनेर अपेक्षा गरेको थिइन् ।’ ‘पलेशाले पदक ल्याउँछ भनेर पेरिस ओलम्पिक २०२४ मा सबैले आशा गरेका थिए । मैले मेरो वाचा पूरा गरे । मैले एउटा पदक घरमा ल्याउन सफल भए । यो सफलता मेरो मात्र होइन, सबैको लागि हो । अब हामी गर्वका साथ भन्न सक्छौँ कि हामीसँग पनि एउटा ओलम्पिक पदक छ, ’ पलेशाले भनिन् । उनले नेपालले पदक ल्याउन सक्दैँन कि भन्ने भ्रमलाई चिरेर उदाहरण बनाएको बताए ।

‘ओलम्पिक पदकको लागि सबैको एउटा लामो पखाईंलाई पूरा गर्नु सकेकोमा म निकै खुसी छु । सबैले यसलाई असम्भव देखेको थियो, नेपालले ल्याउन सक्दैनकी भन्ने प्रश्न हुन्थे । अब मलाईं विश्वास सबै युवा तेक्वान्दो र अरु खेलाडीहरुले पनि देखि सक्नु भयो कि यो सम्भव छ,’ उनले भनिन् ।

यद्यपि, स्रोत, सुविधा र तालिमको कमी भएको भने पलेशाले स्वीकारिन् । उनले भनिन्, ‘हामीसँग धेरै सुविधा थिएन । अन्तिम समयमा केवल हामीले एक महिना तालिम गरेका थियौँ । एक महिना लन्डनमा तालिम गरे र खेलको दिनमा आफुमा मैले गर्न सक्छु भन्ने आत्मविश्वास ल्याएँ र मैले गरेँ ।’ उनले आत्मविश्वासले सबै बलियो पक्ष हुने पनि बताइन् ।

‘सधैँ भन्छु कि आफुमा विश्वास गर्नुस् । तपाईंले आफुले आफुमा विश्वास गर्न सकेन भने केही पनि पाउन सक्नु हुन्न । त्यही हो सबैभन्दा बलियो पक्ष,’ ‘पलेशाले भन्छिन्,‘यो सुरुवात मात्र हो । अझै धेरै पूरा गर्न बाँकी नै छ ।’

उनले अहिले पलेशा र एरिका गुरुङ (एशियाली खेलकुदमा रजत पदक विजेता) युवाहरूका हिरोको रूपमा चर्चा गरे।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदक जितेर पलेशाले विश्वमाझ नै देशको शिर उच्च पारेकोमा धन्यवाद व्यक्त गर्दै राष्ट्रको गौरव निर्माण गर्न सबैभन्दा पहिला खेलाडी र प्रशिक्षकलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले लर्को लगाएर विदेश जानुभन्दा पनि खेल विकासमा ध्यान दिन संघहरूलाई आग्रह गरे। मन्त्री चौधरीले पलेशाका प्रशिक्षक कविराज नेगी लामाले स्वयम् सेवक प्रशिक्षक अहिलेसम्म काम गर्नु दुःखको क्षण रहेको बताए।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, राखेपकै बोर्ड सदस्य अञ्जना श्रेष्ठ मास्के, तेक्वान्दोकी ओलम्पियन संगीना वैद्य, पलेशाको आमाबुबा, विभिन्न खेलका राष्ट्रिय खेलाडी र हजारौं खेलकर्मीले उनीहरूलाई स्वागत गरेका थिए। बाजागाजासहित त्रिभुवन विमानस्थलबाट पदक विजेता पलेशा, अर्का खेलाडी भरतसिंह महता र प्रशिक्षकलाई नगर परिक्रमा गराइँदै राखेपमा विशेष कार्यक्रममार्फत स्वागत र सम्मान गरिएको थियो।