काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पूँजी बजारलाई देशको अर्थतन्त्रको “इन्जिन” भएको बताउँदै १५ दिनभित्र पूँजी बजार सुधारका लागि विस्तृत कार्ययोजना सार्वजनिक गर्ने घोषणा गरेपछि शेयर बजारमा सकारात्मक मनोविज्ञान देखिएको छ।
पछिल्लो समय निरन्तर दबाबमा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अध्यक्ष भट्टको अभिव्यक्तिपछि लगानीकर्ताको मनोबल बलियो बनेको देखिएको छ। लामो समयदेखि ओरालो लागेको बजार एकाएक स्थिर बन्दै सकारात्मक संकेत देखाउन थालेको भन्दै बजारमा नयाँ नेतृत्वप्रति विश्वास बढेको विश्लेषण गरिएको छ। लगानीकर्ताहरूका अनुसार नयाँ अध्यक्षको आगमनसँगै पूँजी बजार सुधार हुने अपेक्षा बलियो बनेको छ। विशेषगरी नियामकीय सुधार, बजारमैत्री नीति तथा लगानीकर्ता संरक्षणका विषयमा प्रभावकारी कदम चालिने विश्वासले बजारमा सकारात्मक माहोल सिर्जना गरेको उनीहरूको भनाइ छ। एक लगानीकर्ताले भने, “अहिले धेरै लगानीकर्ता सेबोनका नयाँ अध्यक्षले १५ दिनभित्र ल्याउने भनिएको कार्ययोजनाको पर्खाइमा छन्। यदि बजारको माग बढाउने, नीतिगत सुधार गर्ने र लगानीमैत्री वातावरण बनाउने निर्णयहरू आए भने बजारले नयाँ गति लिन सक्छ भन्ने अपेक्षा छ।” यता, नेपाल राष्ट्र बैंकले पनि आगामी मौद्रिक नीतिको तयारी गरिरहेको अवस्थामा लगानीकर्ताहरू त्यसतर्फ पनि उत्तिकै चासोका साथ हेरेर बसेका छन्।

मौद्रिक नीतिले बजारमैत्री व्यवस्था ल्याएमा पूँजी बजारलाई थप सकारात्मक ऊर्जा मिल्ने अपेक्षा गरिएको छ। यद्यपि पछिल्लो समय विभिन्न व्यापारीमाथि भएका धरपकड र आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण केही लगानीकर्ता अझै पनि सतर्क देखिन्छन्। तर सेबोनको नयाँ नेतृत्वले पूँजी बजारलाई विकासको नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेपछि बजारमा विश्वासको वातावरण विस्तारै बलियो बन्दै गएको विश्लेषकहरू बताउँछन्। अब लगानीकर्ताको ध्यान सेबोनले सार्वजनिक गर्ने कार्ययोजना र राष्ट्र बैंकको मौद्रिक नीतितर्फ केन्द्रित छ।
यी दुवै निकायबाट आउने नीतिगत निर्णयले आगामी दिनमा नेपालको पूँजी बजारको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।








