images
images

नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

काठमाडौं –नबिल बैंकले ५.५% नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

मंगलबार भएको सम्झौतामा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

बैंकले प्रतिऋणपत्र १ हजार अङ्कित मूल्य कायम गरी १० वर्ष अवधिको वार्षिक ५.५% ब्याजदर रहेको ४० लाख कित्ता ऋणपत्रले हुन आउने ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागिएको हो । जसमध्ये २४ लाख कित्ता ऋणपत्रले हुन आउने कूल २ अर्ब ४० करोड रुपैयाँ ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गर्ने गरिनेछ ।

साथै १६ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ६० करोड रुपैयाँ ऋणपुँजी रकम (सोमध्ये ५% अर्थात ६५,००० कित्ता) ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याएको समेत सार्वजनिक निष्काशनबाट बिक्री गरिने बैंकले जनाएको छ।

नबिल बैंक निजी क्षेत्रको एक अग्रणी वाणिज्य बैंक हो । बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई देशभर रहेका २६३ शाखा सञ्जाल र ३१५ एटीएम मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले हालसालै ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसाथ ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई थप सशक्त रूपमा अगाडि बढाएको छ ।