काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र सांगठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन दिएका छन्।
अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको तत्कालीन राजनीतिक अवस्थालाई मध्यनजर गरेर आन्दोलनमा उत्रिनुपर्ने पार्टीसामु मुख्य कार्यभार रहेको भन्दै त्यसको लागि तयारी अवस्थामा बस्नुपर्ने बताएका हुन्।
आन्दोलन सधैं लामो तयारीपछि मात्रै नभई परिस्थिति असह्य भएपछि तत्काल शुरु गर्नुपर्ने अवस्था आउनसक्ने ओलीको भनाइ छ। अध्यक्ष ओलीले सन् १९१७ को रुसी विद्रोहको उदाहरण दिँदै निर्वाचन, जनविद्रोह तथा उपद्रवकारी क्रियाकलापको माध्यमबाट परिवर्तन सम्भव हुने बताए।
एमालेले विगतदेखि नै विभिन्न राजनीतिक चुनौती र दमनको सामना गर्दै आएको दाबी गर्दै पञ्चायतकाल र राजा महेन्द्रको शासनकालमा समेत पार्टीलाई समाप्त पार्ने प्रयास भएको उल्लेख गरे।
‘हाम्रो पार्टीको केन्द्रिय कमिटीले हाम्रो अगाडि दुई वटा महत्वपूर्ण कार्यभार रहेको छ भनेर भनेको छ । एउटा, हामीले आवश्यकता अनुसार आन्दोलन गर्नुपर्ने हुन्छ, आन्दोलनको तयारीको मानसिकताका साथ साथिहरु सधैं हरदम तयार हुनुहोला । आन्दोलन सधैं लामो तयारी गरेर मात्र हुन्छ भन्न सकिँदैन, ओलीले अगाडि भने, ‘असह्य भएपछि आन्दोलन तत्काल निस्किन्छ । उहिले १९१७ मा रुसमा दुई दिनको ठूलो विद्रोहबाट सत्ता उलटफेर भएको थियो । कहीँ विद्रोहबाट, कहीँ निर्वाचनबाट कहीँ जनविद्रोबाट भने कहीँ उपद्रवबाट उलटफेर हुँदो रहेछ भन्ने हामीले हेरेका छौँ ।’
ओलीले केहीले निर्वाचनमार्फत पार्टी निर्माण गर्ने तयारी गरिरहेको भन्दै एमाले पार्टी बनाउन नभई पार्टी लिएर निर्वाचनमा होमिनुपर्ने उल्लेख गरे।









