images
images

आयात बढ्दा निर्यात घट्यो

काठमाडौँ  चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले रु चार खर्ब सात अर्ब ७५ करोड ८९ लाखबराबरको माल वस्तुको आयात गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा रु चार खर्ब ९९ करोडबराबरको वस्तु आयात भएको थियो। गत आवको तेस्रो महिनाको तुलनामा चालु आवको तेस्रो महिनासम्म कूल आयात १.६९ प्रतिशतले बढेको छ।

 

भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार तीन महिनाको अवधिमा नेपालको निर्यात भने २.२६ प्रतिशतले ओरालो लागेको छ।

विभागका अनुसार सो अवधिमा नेपालबाट रु ४० अर्ब ८७ करोड ४८ लाखबराबरको माल वस्तु निर्यात भएको छ। गत वर्षको तीन महिनाको अवधिमा रु ४१ अर्ब ८२ करोड बराबरको निर्यात भएको थियो।

सो अवधिमा नेपालले रु चार खर्ब ४८ अर्ब ६३ करोडबराबरको वैदेशिक व्यापार गरेको छ। गत वर्षको यही अवधिमा रु चार खर्ब ४२ अर्ब ८१ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।

विभागका अनुसार असोज मसान्तसम्म नेपालको व्यापार घाटा रु तीन  खर्ब ६६ अर्ब ८८ करोड बराबर रहेको छ। गत वर्षको सोही अवधिमा रु तीन खर्ब ५९ अर्ब १७ करोड बराबरको व्यापार घाटा भएको थियो।