images
images

चीनले १८ महिनापछि भारतका लागि नयाँ राजदूत पठाउँदै

चीनले करिब डेढ वर्षपछि भारतमा आफ्नो नयाँ राजदूत पठाउने तयारी गरेको छ। टाइम्स अफ इन्डियाका अनुसार चीनका राष्ट्रपति शि जिन पिङले १८ महिनापछि वरिष्ठ कूटनीतिज्ञ शुई फेइहोङ्गलाई भारतका लागि नयाँ राजदूत नियुक्त गरेका छन्। यद्यपि, यसबारेमा कुनै औपचारिक घोषणा गरिएको छैन तर चीनको विदेश मन्त्रालयले समाचार एजेन्सी पिटिआईलाई अफगानिस्तान र रोमानियामा राजदूतको जिम्मेवारी निर्वाह गरिसकेका शुई फेइहोङ्ग अब भारतका लागि चीनका राजदूत हुने पुष्टि गरेको छ।

द हिन्दूले ६० वर्षीय शूईले छिट्टै नयाँ दिल्लीमा आफ्नो पद सम्हाल्ने उल्लेख गरेको छ। उनले शन् वाइडोङ्गको स्थान लिन लागेका हुन्। शन् वाइडोङ्ग भारतमा आफ्नो कार्यकाल अक्टुबर २०२२ मै पुरा गरेर फर्केपछि चिनले भारतका लागि नयाँ राजदूत नियुक्त गरेको थिएन। शन् वाइडोङ्ग, भारतअघि पाकिस्तानका लागि चिनियाँ राजदूत थिए। हाल उपविदेशमन्त्री रहेका उनले चिनको दक्षिण एशिया नीति सम्हालिरहेका छन्।

भारत र चीनबीच लामो समयदेखि चलिरहेको सैन्य गतिरोध हल गर्नका लागि कैयौँ पटकको वार्ताका बीच शुईलाई राजदूत नियुक्त गरिएको छ। दुवै देशको सम्बन्ध सन् २०२० मे मा लद्धाखमा भएको हिंस्रक सैन्य झडपपछि तनावपूर्ण रहँदै आएको छ। त्यसयता दुवै पक्षबीच अहिलेसम्म कोर कमाण्डरस्तरमा २१औँ चरणको वार्ता भइसकेको छ।