images

भाजपा नेतृत्वको एनडिए गठबन्धनले बहुमत पाउने निश्चित, मोदी तेस्रोपटक प्रधानमन्त्री बन्ने !

काठमाडौं । भारतको लोक सभा चुनावको मतगणना सुरु हुनु अगाडि मत सर्वेक्षण (एक्जिट पोल)का अलग–अलग नतिजाहरु सार्वजनिक भएका छन् ।

१३ वटा मत सर्वेक्षणमा सबैको सार नरेन्द्र मोदीले ह्याट्रिक जित हासिल गर्ने उल्लेख छ ।

विभिन्न न्यूज एजेन्सी र च्यानलहरुले भाजपा नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याउने र विपक्षी कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन हार्ने सर्वेक्षणको निष्कर्ष छ।

हिन्दुस्तान टाइम्सका अनुसार लगभग सबै एक्जिट पोलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेको भारतीय जनता पार्टी (भाजपा) एनडिए गठबन्धनले ३५० भन्दामाथि सिट जित्ने प्रक्षेपण गरेका छन्।

त्यस्तै कंग्रेस आईले नेतृत्व गरेको प्रतिपक्षी इन्डिया गठबन्धनले १३० सिट वरिपरि जित्ने प्रक्षेपण गरिएको छ।

५४३ सदस्यीय लोक सभामा बहुमत पुर्‍याउन एनडिएलाई २७२ सिट चाहिन्छ। चुनावका यी प्रक्षेपण सही भएमा नरेन्द्र मोदी लगातार तीनपटक निर्वाचन जितेर भारतको प्रधानमन्त्री बन्नेछन्।

यसअघि जवाहरलाल नेहरू पनि सन् १९५२, सन् १९५७ र सन् १९६२ मा गरी तीनपटक प्रधानमन्त्री बनेका थिए।

मोदीले नेतृत्व गरेको एनडिए गठबन्धनले पछिल्ला दुई चुनाव, सन् २०१४ र २०१९ मा पनि बहुमत ल्याएको थियो। मोदी पछिल्ला दस वर्षदेखि भारतका प्रधानमन्त्री छन्।

सन् २०१९ को निर्वाचनमा भाजपा एक्लैले ३०३ सिट सहित बहुमत ल्याएको थियो। यसपालि पनि उसले एक्लै बहुमत पुर्‍याउने अनुमान छ।