images

एसइईको नतिजा सार्वजनिक, ४८ प्रतिशत परीक्षार्थी पास

काठमाडौं -माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको (एसइई) को नतिजा सार्वजनिक गरेको हो ।

बिहान बसेको बोर्ड बैठकको निर्णयसँगै नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। उनीहरूमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने छन्।

५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेड (एनजी) अर्थात् फेल भएकाे बाेर्डले जनाएकाे छ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशतअर्थात् २६ दशमलव २५ अंक अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने गरी ‘एनजी’ उल्लेख गरिएको हाे।

आन्तरिकतर्फ २५ पूर्णाकको परीक्षामा ४० प्रतिशतअर्थात् १० अंक ल्याउनुपर्छ। ‘एनजी’ आउने परीक्षार्थीले ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन्।

विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने छन्। दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष ‘एनजी’ लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन्।

यसका साथै २२१ जनाको परीक्षा रद्द गरिएको छ।

एसइई नतिजा वेबसाइट,एसएमएस र आइभिआरबाट हेर्न सकिने बोर्डले जनाएको छ । नेपाल टेलिकमले पनि नतिजा हेर्ने व्यवस्था मिलाएको छ । आइभिआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन,मोबाइलबाट १६०० डायल गरि प्राप्त निर्देशनअनुसार रिजल्ट थाहा पाउन सकिने छ ।

एसएमएसको लागि मोबाइलको म्यासेज बक्समा SEE<space> <symbol number>  टाइप गरी १६०० मा पठाउनुपर्ने छ । वेबसाइटको लागि Website: http://see.ntc.net.np मार्फत हेर्न सकिने छ।