अंशुभराको ‘मिक्सड युज ब्लिडिङ’ पोखराको लेकसाइडमा आउँदै

काठमाडौं : अंशुभरा ग्रुपले पोखराको पर्यटकीय स्थल लेकसाइडमा नयाँ प्रोजेक्ट सुरु गर्ने भएको छ। पोखरा महानगरपालिका-६ को बाराही चोकमा अंशुभराले ‘मिक्सड युज ब्लिडिङ’ बनाउन लागेको हो।

अंशुभराका प्रबन्ध निर्देशक सौगात थापाले केही महिनामै प्रोजेक्ट सम्पन्न भएर सञ्चालनमा आउने बताए। पर्यटकीय केन्द्रको आकर्षण रहेको बाराही चोकमा हाल निर्माणाधीन अवस्थामा रहेको उनले जानकारी दिए। उनका अनुसार अंग्रेजी नयाँ वर्षको अवसर उक्त प्रोजेक्ट सुचारु हुने छ।

‘यो निर्माण भइरहेको प्रोजेक्ट नेपालमा फरक प्रकृतिको हो। नयाँ मोडलको व्यावसायिक भवनले पोखराको फरक पहिचान बोक्छ,’ प्रबन्ध निर्देशक थापाले, ‘यसले ग्राहकलाई फरक खालको अनुभूति दिने छ।’

मुलुकका विभिन्न ठाउँमा खुलेका सपिङ मलमा सपिङ गर्न तथा खाना पाइने हुन्छ तर यसमा होटल पनि रहनेछ। पर्यटकले यस भवनबाट सबैथोकको सुविधा पाउने छन्। यसमा सपिङ्गदेखि होटल सम्मको सेवा उपलब्ध हुनेछ।’अंशुभरा ३१ औँ वर्षको यात्रामा प्रवेश गरेकाले यसलाई ३१ एभिन्यु नामकरण गरिएको उनले जानकारी दिए।

भवनमा बीस कोठासहितको फरक प्रकृतिको होटलसमेत सञ्चालनमा ल्याइने छ। उनका अनुसार तीनवटा रेष्टुरेण्ट र एउटा बार रहने छ। पाँच वटा रिटेल पसल हुनेछन्। विभिन्न ब्राण्डका लुगा पसल, ह्ययान्डिक्राफ्ट र क्याफे सञ्चालनमा ल्याइने छ। जग्गासहितको ६० करोडको लगानीमा उक्त भवन सञ्चालन हुन लागेको उनले जानकारी दिए।

अंशुभराले यसअघि पोखरामा नेपालको सबैभन्दा ठूलो ‘पोखरा ट्रेड मल’ सञ्चालनमा ल्याइसकेको थापाले दाबी गरे। जुन मलमा ५ सय २५ वटा पसलहरू सञ्चालनमा रहेका छन्।

यसअघि लेकसाइडमा अंशुभरा ग्रुपले ‘अंशुभरा स्क्वायर’ व्यावसायिक मल सञ्चालनमा ल्याइसकेको छ।