images
images

नेपालमा अबको सिर्जना र अनुसन्धान परम्परा धान्नेमा सीमित हुनु हुँदैनः प्रधानमन्त्री

असार ९, काठमाडौ । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अबको सिर्जना र अनुसन्धान केवल परम्परा धान्नेमा मात्र सीमित हुन नहुने वताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिक उत्सवका अवसरमा आज काठमाडौंम आयोजित कार्यक्रममा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले यथास्थितिका सौन्दर्यचेतनाले मात्रै अब नपुग्ने भन्दै नेपाली समाजको सामाजिक संरचना र राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोहीअनुसारको सांस्कृतिक रूपान्तरण जरुरी रहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले नेपाली समाजका सूक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामीजस्तै बनेरआइरहेको भूमण्डलीकृत उत्तरआधुनिक संस्कृतिको प्रतिरोध गर्न आह्वान गर्दै सङ्घीय, समानुपातिक, गणतान्त्रिक युगअनुकूलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व भएको प्रष्टाउनु भयो ।
प्रधानमन्त्री प्रचण्डले नेपालको संविधान २०७२ को मर्म र भावना अनुरूप नेपालमा बोलिने सबै भाषा र तिनका साहित्य, संस्कृति अनि ज्ञानका विभिन्न शाखालाई प्रबद्र्धन र विकास गर्दै अघि बढ्नु प्रज्ञा प्रतिष्ठानको दायित्व र कर्तव्य रहेको औल्याउनु भयोे । उहाँले नेपालका कतिपय उन्नत सांस्कृतिक परम्परा, यहाँको माटोमा सिर्जित र विकसित ज्ञान तथा साहित्य–चिन्तनलाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्न सकेमा मात्र हामी सफल हुने वताउनु भयो ।
प्रधानमन्त्री प्रचण्डले गर्नुभएको सम्बोधनको पूर्ण पाठ यसप्रकार छ ।

नेपाल प्र्रज्ञा–प्रतिष्ठानको ६६औं वार्षिकोत्सव कार्यक्रममा सम्माननीय प्रधानमन्त्री तथा प्रतिष्ठानका संरक्षक श्री पुष्पकमल दाहाल “प्रचण्ड” ले व्यक्त गर्नुभएको सम्बोधन
(९ असार २०८०, प्रज्ञा भवन, कमलादी)
नेपाल प्र्रज्ञा–प्रतिष्ठानको ६६औं वार्षिकोत्सव कार्यक्रमका अध्यक्ष तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपतिज्यू,
माननीय मन्त्रीज्यू,
मञ्चासीन व्यक्तित्वहरू,
उपस्थित साहित्यकार,
कविता महोत्सवमा सहभागी कविहरू,
पत्रकार मित्रहरू,
विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू,
प्रतिष्ठानका कर्मचारी तथा प्राज्ञिक व्यक्तित्वहरू ।
नेपालका भाषा, साहित्य, कला, संस्कृति लगायत ज्ञान–विज्ञानका विभिन्न शाखाहरूको अध्ययन, अनुसन्धान तथा विकास गर्ने उद्देश्यका साथ २०१४ सालमा नेपाल साहित्य कला एकेडेमीका रूपमा स्थापना भएको यस प्रतिष्ठान परिवर्तित हुँदै हाल नेपाल प्रज्ञा–प्रतिष्ठानको रूपमा आइपुगेको सबैलाई अवगत नै छ । २०६२÷०६३ को जनआन्दोलनपश्चात् साविकको नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट ललितकला र सङ्गीत–नाट्य विधालाई छुट्टै प्रतिष्ठानका रूपमा गठन गरिएकोले नेपाल प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिकशास्त्रका क्षेत्रमा अध्यययन–अनुसन्धान र प्रकाशनका काम गर्दै आइरहेको छ ।
जनयुद्धको जगमा भएको २०६२÷०६३ को जनआन्दोलन र त्यसबाट निर्मित नेपालको संविधान २०७२ को मर्म र भावना अनुरूप नेपालमा बोलिने सबै भाषा र तिनका साहित्य, संस्कृति अनि ज्ञानका विभिन्न शाखालाई प्रबद्र्धन र विकास गर्दै अघि बढ्नु वर्तमान प्रज्ञा प्रतिष्ठानको दायित्व र कर्तव्य पनि हो । नेपालका कतिपय उन्नत सांस्कृतिक परम्परा, यहाँको माटोमा सिर्जित र विकसित ज्ञान तथा साहित्य–चिन्तनलाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्न सकेमा मात्र हामी सफल हुनेछौं । अबको सिर्जना, अबको अनुसन्धान केवल परम्परा धान्नेमा मात्र सीमिति हुनुहुन्न । यथास्थितिका सौन्दर्यचेतनाले मात्र अब पुग्दैन । आज नेपाली समाजको सामाजिक संरचना र राजनीतिक व्यवस्थामा परिवर्तन आएको छ । सामाजिक संरचना र राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोहीअनुसारको सांस्कृतिक रूपान्तरण हुन सकिरहेको छैन । परिणामतः नेपाली समाजका सूक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामीजस्तै बनेर आइरहेको भूमण्डलीकृत उत्तरआधुनिक संस्कृतिको प्रतिरोध गर्दै आजको सङ्घीय, समानुपातिक, गणतान्त्रिक युगअनुकूलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व हो ।
आजको यही युगीन आवश्यकतालाई सम्बोधन गर्न नेपाल सरकारले आज नयाँ प्रज्ञा परिषद् तथा प्राज्ञ सभाको गठन गरेको छ । आजको युगीन दायित्वलाई आत्मसात् गर्दै उत्पादनमूलक राष्ट्रिय अर्थव्यवस्थाको विकास गरेर नेपाल राज्यले लिएको समाजवादोन्मुख व्यवस्थाको लक्ष्य पूरा गर्न आवश्यक पर्ने श्रमको सम्मानमा आधारित अन्तर्वस्तु र सौन्दर्यशास्त्रको निर्माण गर्ने साहित्य र संस्कृतिको निर्माण गर्ने काम यस प्रतिष्ठानले सफलतापूर्वक सम्पन्न गर्ने छ भन्ने विश्वास मैले लिएको छु ।
प्रज्ञा प्रतिष्ठानको वर्तमान नेतृत्वका तर्फबाट सरकारसमक्ष आएका नयाँ र सिर्जनात्मक प्रस्तावहरूप्रति सरकार सकारात्मक छ । त्यस प्रति सरकारको तर्फबाट आवश्यक पहल भइरहेको छ । प्रतिष्ठानको वर्तमान नेतृत्वले नेपालको मौखिक इतिहासको खोजी गर्ने, नेपालमा बोलिने मातृभाषाको संरक्षण र संवर्धन जोड दिने, नेपालको परिवर्तनको सौन्दर्य, श्रमजीवी वर्गको सौन्दर्य र सिर्जनामा जोड दिने कुराप्रति सचेत रहेको बुझेको छु । त्यसमा सरकारको भरपूर रहयोग रहने छ ।
मैले थाहा पाएँ, २०२२ सालदेखि सुरु भएको कविता महोत्सवमा यस पटकदेखि बहुभाषी सहभागिता कविता समावेश गरिएको थाहा पाउँदा खुसी लागेको छ । यसबाट उत्साहित भएर कविहरुले यस पटक यो दशकमै सबैभन्दा बढी कविहरू सहभागी भएको थाहा पाउँदा मलाई खुसी लागेको छ । यसपटक झन्डै तीन दर्जन भाषाका कविताहरू महोत्सवमा सहभागी भएको थाहा भयो । मलाई आशा छ, आगामी वर्षदेखि नेपालका सबै भाषाका कविता राष्ट्रिय कविता महोत्सवमा सहभागी हुनेछन् र राष्ट्रिय कविता महोत्सव आफ्नो नाम अनसार साँच्चिकै राष्ट्रिय कविता महोत्सवका रूपमा अरु स्थापित हुनेछ ।
मलाई यस महोत्समा वाचन हुने कविता सुन्ने इच्छा थियो । समय अभावका कारण म त्यसबाट वञ्चित हुने भएँ । वाचनका लागि छनोटमा परेका र पुरस्कृत हुनुहुने कविहरूलाई हार्दिक बधाइ दिन चाहन्छु र वाचनका लागि छनोटमा नपरे पनि कविता महोत्सवमा सहभागिता जनाउनुहुने सबै कविहरूलाई पनि उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
अन्त्यमा, नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिक उत्सवका अवसरमा आयोजित खेलकुद, हाजिरी जवाफ लगायतका प्रतियोगितामा पुरस्कृत हुने प्रज्ञा प्रतिष्ठानहरूका कर्मचारी, उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत हुनुहुने कर्मचारीहरूलाई बधाइ छ । नेपालका भाषा, साहित्य, संस्कृति, दर्शन र समाजशास्त्रको संरक्षण, संवर्धन र विकासको गहन अभिभारा बोकेका मुलुकको गरिमामय संस्था नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिक उत्सवका प्रतिष्ठान यससँग सम्बद्ध सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।