images
images

कृषि, शिक्षा र रोजगारलाई प्राथमिकता दिँदै पालुङटार नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

गोरखा – गोरखाको पालुङटार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र सुशासनलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

नगरपालिकाको १९ औँ नगरसभामा नगर प्रमुख विवश चिन्तनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माणलाई प्रमुख प्राथमिकतामा राखिएको छ।

कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमार्फत किसानको उत्पादन वृद्धि गर्ने लक्ष्यसहित ‘पालुङटार बहुउद्देश्यीय कृषि प्रवर्द्धन कार्यक्रम’लाई निरन्तरता दिइने भएको छ। साथै कृषि एम्बुलेन्स सेवा विस्तार, कृषक परिचयपत्र वितरण, कृषि बीमा कार्यक्रम सञ्चालन, शीतभण्डार व्यवस्थापन तथा कृषि तथा पशुपन्छी प्रयोगशाला स्थापना गर्ने नीति लिइएको छ।
शिक्षा क्षेत्रतर्फ निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षालाई थप प्रभावकारी बनाउने, विद्यालय दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिने, विद्यार्थीको सामूहिक दुर्घटना बीमा तथा सूचना प्रविधिमैत्री शिक्षण प्रणाली विकास गर्ने कार्यक्रम समावेश गरिएको छ। विद्यार्थीको सिकाइ उपलब्धि सुधारका साथै

मनोसामाजिक परामर्श र छात्रवृत्ति कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ।
रोजगार तथा उद्यमशीलता विकासलाई विशेष जोड दिँदै वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै उद्यम सञ्चालन गर्न प्रोत्साहन गरिने भएको छ। सीपमूलक तालिम सञ्चालन, स्थानीय स्तरमा रोजगारी सिर्जना तथा रोजगार सेवा केन्द्रमार्फत श्रम स्वीकृति, वैदेशिक रोजगारसम्बन्धी परामर्श र उद्यम विकास कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

त्यसैगरी स्वास्थ्य सेवाको पहुँच विस्तार, स्वास्थ्य संस्थाको स्तरोन्नति, मातृ तथा शिशु स्वास्थ्य सुधार, पर्यटन क्षेत्रको संरक्षण तथा प्रवर्द्धन र सूचना प्रविधिमा आधारित सार्वजनिक सेवा प्रवाहलाई पनि प्राथमिकतामा राखिएको छ।

नगरपालिकाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सुशासन, पारदर्शिता र जवाफदेहितालाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।