images

राजतन्त्रका पक्षमा यसरी मान्छे बेसरम उफ्रिएको कहिल्यै देखिएको थिएन : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई बन्न नदिने प्रयास भइरहेकाले दाबी गरेका छन् ।

शनिबार ‘स्थानीय तहमा जनसंगठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशालाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । परिवर्तनको सारथि एमालेलाई कसरी कमजोर पार्ने भन्नेमा प्रतिक्रियावादीहरु लागेको उनको भनाइ छ ।

ओलीले भने, ‘अहिलेको परिस्थिति जटिल छ । हामीविरुद्ध घेराबन्दी छ । परिवर्तनका विरोधी शक्तिहरु संविधानविरुद्ध खुलेआम लागेका छन् । सामन्ती, निरंकुश र अधिनायकवादी राजतन्त्रका पक्षमा यसरी मान्छेहरु बेसरम उफ्रिएको पहिले कहिल्यै देखिएको थिएन ।’
उनले थप भने, ‘जानी नजानी एक खालका मानिसहरुबाट नकारात्मक महौल खडा गर्ने कोसिस भइरहेको छ । सत्य र तथ्यको बाटो नभई झुठ, भ्रम, षड्यन्त्र र तिकडमको सहारा लिएका छन् । उनीहरुलाई काम र मेहनत गर्नु पर्दैन । भएको राम्रो कामको उल्टो काम प्रचार गरे पुग्छ ।’